विदेशी फिल्म जुनसुकै डेटमा रिलिज हुन पाउने, ‘चपली हाइट ३’ पोस्टपोन्ड – Nepal Press

विदेशी फिल्म जुनसुकै डेटमा रिलिज हुन पाउने, ‘चपली हाइट ३’ पोस्टपोन्ड

राहत सुविधा चैत मसान्तसम्म लम्बियो

काठमाडौं । चलचित्र संघ र चलचित्र निर्माता संघको आइतबार बसेको बैठकले महामारीपछिको फिल्मबारे केही महत्वपूर्ण निर्णय गरेको छ ।

महामारी प्रभावित फिल्मलाई रिलिज र सेयरमा दिइँदै आइएको राहतको समयावधीलाई लम्बाइएको छ भने चपली हाइट फिल्म पोस्टपोन्ड भएको छ । अबदेखि विदेशी फिल्म भने जुनसुकै मितिमा रिलिज हुन पाउनेछन् भने नेपाली फिल्मलाई जुधाउन पाइनेछैन ।

राहत सुविधा चैत मसान्तसम्म

चलचित्र निर्माता संघ र चलचित्र संघको संयुक्त कार्यदलको बैठकले कात्तिक १० गते केही निर्णय गरेको थियो । माघसम्म रिलिज हुने फिल्मलाई पहिलो साता ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत सेयर दिइने निर्णय गरेको थियो ।

अब यो सुविधालाई चैत मसान्तसम्म लम्बाइएको छ । तर, यो सुविधा पाउनको लागि नेपाली फिल्म अर्को नेपाली फिल्मसँग जुध्न पाउनेछैनन् । एकल रिलिज हुने फिल्मलाई मात्र यो सुविधा दिइने भएको छ ।

‘चपली हाइट’ पोस्टपोन्ड, ‘कठ्पुतली’ पुस १५ मै

दुबै कार्यकारी संस्थाको दबाबपछि निर्माता अर्जुन कुमारले आफू निर्मित फिल्म ‘चपली हाइट ३’को प्रदर्शन मिति पोस्टपोन्ड गरेका छन् । अब यो फिल्म पुस ३० गते रिलिज हुने भनिएपनि उक्त मितिमा आउने सम्भावना पनि कम छ ।

नेपाल प्रेससँग कुरा गर्दै, निर्माता अर्जुन कुमारले पुस ३० मा पनि फिल्म रिलिज हुने सम्भावना न्यून रहेको बताए । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण वृद्धि हुँदै जान थालेपछि आफूले पुस ३० गतेको रिलिज मितिबारे पुनर्विचार गरिरहेको उनले बताए । महामारीलाई निर्माताले कारण देखाएपनि फिल्मलाई लिएर अपेक्षित हाइप सिर्जना हुन नसक्नुलाई मुख्य कारण मानिएको छ ।

कठ्पुतली भने पुस १५ मै रिलिज हुने सहमति भएको छ ।

विदेशी फिल्म जुनसुकै डेटमा

गत कात्तिक १० गते बसेको कार्यदलको बैठकले फिल्म जुध्न नपाइने र नेपाली रिलिजको समयमा पनि विदेशी पनि आउन नपाइने निर्णय भएको थियो । तर, वितरकको दबाबपछि भोलिपल्टै अर्थात कात्तिक ११ गते यो निर्णय उल्टियो ।

त्यसपछि यो निर्णयलाई गोप्य राखिएको थियो । तर, आइतबार बसेको बैठकमा कार्यदलले माफी मागेको छ । बैठकमा सहभागी चलचित्र संघका उपमहासचिव गोपाल कायस्थले अबदेखि विदेशी फिल्म जुनसुकै मितिमा रिलिज हुन पाउने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर