१४ सांसदको मुद्दा पेसीमा, म्याद बुझ्न नमानेका माधव नेपाललाई तामेलदारको यस्तो चेतावनी – Nepal Press

१४ सांसदको मुद्दा पेसीमा, म्याद बुझ्न नमानेका माधव नेपाललाई तामेलदारको यस्तो चेतावनी

काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गर्ने निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दा आज पेसीमा चढेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोग र सभामुखलाई विपक्षी बनाएको सो मुद्दा सुनुवाइका लागि तेजवहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको छ । तर, मुद्दाको सूचीमा उक्त पेसी मध्य भागतिर छ ।

सर्वोच्च अदालतका न्यायाधीश दीपक कार्की र कुमार चुँडालको इजलासले दशैंअघि गरेको सुनुवाइमा अन्तरिम आदेश नदिइ सक्कल कागज माग्ने र विपक्षीबाट लिखित जवाफ मगाउने आदेश दिएको थियो ।

सर्वोच्चले पटक-पटक लिखित जवाफ पठाउन ताकेता गरेपनि माधव नेपालसहित नेकपा एसका १४ जना सांसदले म्याद बुझ्न नमानेपछि सर्वोच्च प्रशासनले अदालतको अवहेलनामा मुद्दा चलाउन प्रतिवेदन बनाउने चेतावनी दिएको थियो ।

माधव नेपाल स्वयं र नेपालका वकिल गोविन्द बन्दीलगायतलाई सर्वोच्च प्रशासनले म्याद नबुझेमा अदालतको अवहेलनामा मुद्दा चलाउने चेतावनी तामेलदारले दिएपछि १४ जनाले लिखित जवाफ पेस गरेका छन् ।

लिखित जवाफ पेस गरेपछि नेकपा एसका अध्यक्ष नेपालले सर्वोच्च अदालतका अधिकांस न्यायाधीशसँग संवाद गरेको न्यायाधीशहरूबीचमै चर्चा चलेको छ । कतिपय न्यायाधीशसँग नेपालले आफैं भेट गरेका थिए ।

यसैबीच आज पेसी सूचीमा चढेपछि साप्ताहिक पेसी सूचीलगत्तै कतिपय न्यायाधीश बिदामा बस्ने मनस्थितिमा थिए । केही न्यायाधीश बिरामी बिदामा बसेका छन् ।

नेकपा एमालेले आफ्नो पार्टीका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको लगायत अनुशासनको विषय उठाएर साउन २७ गतेको मितिमा नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सो पत्र निर्वाचन आयोग र संसद सचिवालयमा पठाएको थियो ।

नेपालसहित मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, पुष्पा कर्ण कायस्थ, लक्ष्मी चौधरी, मेटमणी चौधरी, कल्याणी खड्का, रामकुमारी झाँक्री, कलिला खातुन, निरा जैरु र सरला यादवललाई एमालेले निष्कासन गरे पनि सभामुखले निष्कासको सूचना टाँस गरेनन् ।

आयोगले नेकपा एसलाई नयाँ दलको मान्यता दिएपछिमात्र सभामुखले अब केही कारवाही गर्नु नपर्ने भन्ने सूचना टाँस गरेका थिए । त्यसका विरुद्ध एमालेले सदन अवरोध जारी राखेको छ भने अदालतमा मुद्दा चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर