हुम्लामा भारी हिमपात- घर बाहिर निस्कन समस्या, दक्षिणी भेगका किसानमा खुसियाली – Nepal Press

हुम्लामा भारी हिमपात- घर बाहिर निस्कन समस्या, दक्षिणी भेगका किसानमा खुसियाली

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा सोमबार बिहानैबाट भारी हिमपात भइरहेको छ । हिमपातले सदरमुकाम सिमकाेटसहित जिल्लाका उत्तरी क्षेत्रका नागरिककाे जनजीवन कष्टकर बन्दै गएको छ ।

हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम निकै घटेको छ । सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको छ । हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो बढेको छ ।

लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सिमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुकाका स्थानीय लाप्का लामाले जानकारी दिए ।

उनका अनुसार मुचुमा अहिलेसम्म झण्डै दुई फिट हिउँ जमेको छ । हिमपातसँगै बढेको जाडोले हुम्लाको उत्तरी क्षेत्रमा पशुवस्तुलाई समेत घरमै घाँस हालेर राखिएको छ ।

लामो समयको खडेरी पश्चात आज परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुसी भएका छन् । पानी नपरेकाले गहुँबाली उम्रन नसक्दा चिन्तामा रहेका अदानचुली, ताँजकोट, चंखेली र सर्केगाडका स्थानीय हिमपातसँगै खुसी भएका हुन् ।

हिउँसँगै परेको पानीले जिल्लाको दक्षिण भेगमा कृषकसमेत राहत भएको अदानचुली ५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हिमपात भएको हो । आज सोमबार केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्यदेखि पूर्णतया बदली रहने र धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

सुरेश परियार/न्युज कारखाना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर