एजेन्टको परीक्षा मिति तोकेर आठ महिना देखि चुपचाप भन्सार विभाग – Nepal Press

एजेन्टको परीक्षा मिति तोकेर आठ महिना देखि चुपचाप भन्सार विभाग

काठमाडौं । २१ वर्षपछि पहिलो पटक भन्सार एजेन्टका लागि आवेदन माग भएको आठ महिना वित्दापनि छनौट प्रक्रिया अगाडि बढ्न सकेको छैन् ।

भन्सार एजेन्टको संख्या कम भएको भन्दै विभागले २०५७ साल पछि ६६० जना एजेन्टका लागि २०७७ चैत १६ गते आवेदन माग गरेको थियो ।

आवेदन दिएर परीक्षा दिन तयारी गरेका १० हजार बढी आवेदकहरु परीक्षा स्थगित गरेर हालसम्म मिति नतोक्दा मर्कामा परेका छन् ।

भन्सार नाका र व्यापारमा उल्लेख्य बृद्धि भएसँगै एजेन्टको संख्या न्युन भएपछि सरकारले ६६० जना भन्सार एजेन्ट थप गर्ने निर्णय गरी आवेदन गरेपनि विभागले छनौट प्रकृया अघि बढाउन नसक्दा भन्सार व्यापार प्रभावकारी हुन सकेको छैन ।

कोरोना भाइरसका कारण बताउदै स्थगित भएको छनौट परीक्षा आठ महिना वित्दा समेत सुरु नभएपछि आवेदकहरुले आपत्ति जनाउन थालेका छन् ।

स्थागित परीक्षा सञ्चालन कहिले गर्ने भन्ने बारे छलफल नै नभएको भन्सार विभागका सूचना अधिकारी पुण्य बिक्रम खड्काले बताए ।

आवेदन रद्ध गर्ने या छनौट अगाडि बढाउने भन्ने बारेमा छलफल हुन सकेको छैन तर सरकारले भने तत्काल छनौट प्रकृया अघि बढाउन निर्देशन दिएको उनले बताए ।

यता लामो समय देखि कम संख्यामा काम गर्दै आएका पुराना भन्सार एजेन्टहरुको संस्था भन्सार एजेन्ट महासंघ नेपालले भने परीक्षा स्थगित गर्नु पर्ने भन्दै आवाज उठाएका थिए ।

तर २१ वर्ष देखि एजेन्ट नियुक्त नसक्दा भन्सार सम्बन्धी काम प्रभावकारी नभएको भन्दै तत्काल छनौट गर्नुको विकल्प नभएको अर्थमन्त्रालयले जनाएको थियो ।

समयक्रमसँगै भन्सार नाका र व्यापारमा उल्लेख्य बृद्धि हुँदा एजेन्ट थपिएन बरु भएका एजेन्ट पनि दुई÷तिहाइ निष्क्रिय रहेको र चालू आर्थिक वर्षमा १ सय ६९ जना भन्सार एजेन्टले मात्र अनुमतिपत्र नवीकरण गराएको विभागको तथ्याङक छ ।

सिमित एजेन्टका कारण मनोमानी बड्दै जानु समयमै जाँचपास नहुनुले अन्तर्राष्ट्रिय व्यापारमा समस्या हुने गरेको भञ्सार व्यवसायी परिर्वतन राईले बताए ।

व्यवसायीले चाहेको समयमा भन्सार एजेन्ट नपाउने, समयमै मालवस्तु पास नहुने, एजेन्टले गुणस्तरीय काम नगर्ने, महँगो सेवाशुल्क लिने, तौलअनुसार शुल्क निर्धारण गर्ने तथा सिन्डिकेट गर्ने लगायतका समस्या हुने गरेको उनको भनाई छ ।

पछिल्ला दुई दशकमा नेपालको अन्तर्राष्ट्रिय व्यापारको आकार झन्डै दश गुणाले बृद्धि भएको छ भने मूल भन्सार नाका पनि दोब्बर भएको छ ।

हाल ३८ मूल भन्सारमध्ये २८ वटा सञ्चालनमा छन् । निकासी र पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी–पैठारीकर्ताले भन्सार एजेन्ट राख्नु पर्ने व्यवस्था छ ।

२०५७ सालमा ५६ वटा एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति भएका छैनन् । सरकारले हालसम्म ४ सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ । आवस्यकता भएपनि एजेन्ट छनौटका लागि विभागले कम चासो दिनु राज्यको हितमा नभएको व्यवसायीहरुको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर