राष्ट्रिय सम्मेलनमा वर्षमान आउन नसक्ने, हलबाटै महासचिव घोषित गर्न प्रचण्डमाथि दबाब – Nepal Press

राष्ट्रिय सम्मेलनमा वर्षमान आउन नसक्ने, हलबाटै महासचिव घोषित गर्न प्रचण्डमाथि दबाब

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतवार शुरु हुने वहुचर्चित राष्ट्रिय सम्मेलनमा महासचिवका प्रबल दाबेदार वर्षमान पुन सहभागी हुन नसक्ने भएका छन् ।

थाइल्याण्डमा उपचार सम्भव नभएपछि एयर एम्बुलेन्सबाट चीन गएका पुनको उपचार अझै जारी रहेका कारण राष्ट्रिय सम्मेलनमा आउन नसक्ने भएका हुन् ।

निकट स्रोतका अनुसार पुन जसरी पनि सम्मेलनमा आउन चाहान्थे । तर उनको कलेजोमा जण्डिसको मात्रा कायमै रहेको र शक्रुवारमात्रै चिकित्सकले थप उपचार थालेकाले नेपाल यात्रा रोकिएको हो ।

पुनले अध्यक्ष प्रचण्डसँग पनि टेलिफोन सम्पर्क गरेका थिए । प्रचण्डले उपचार सकेर आउनू भन्दै पुनको अनुपस्थितिमा उनको राजनीतिमा असर पर्ने कुनै निर्णय नहुने आश्वासन दिएको स्रोतले जनाएको छ ।

यता वर्षमान पुन निकट नेता कार्यकर्ताले उपचारका क्रममा रहेका पुनलाई राष्ट्रिय सम्मेलनको हलबाटै महासचिव घोषित गर्न समेत अध्यक्ष प्रचण्डलाई दबाब दिएका छन् ।

स्रोतका अनुसार कर्णाली प्रदेशका मन्त्री समेत रहेका विन्दमान विष्ट समेत केही नेताले प्रचण्डलाई भेटेरै उपचारका क्रममा रहे पनि वर्षमानको भूमिका र संगठनमा सिनियरिटी हेरेर महासचिव घोषणा गर्न सुझाव दिएका छन् ।

वर्षमान नआउने भएपछि माओवादी राष्ट्रिय सम्मेलनबाट महासचिव लगायत पदाधिकारी चयन हुने सम्भावना तत्काललाई टरेको नेताहरुले बताएका छन् । प्रचण्डले वर्षमानको अनुपस्थितिमा नेतृत्वको चुनाव गराउन नचाहने उनीहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर