क्रिसमसमा दीवाकरले घोषणा गरे फिल्म ‘हनी बनी’ : लन्डनमा फिल्म छायांकन हुने – Nepal Press

क्रिसमसमा दीवाकरले घोषणा गरे फिल्म ‘हनी बनी’ : लन्डनमा फिल्म छायांकन हुने

काठमाडौं । घरेलु बक्सअफिसमा ‘ऐश्वर्या’ र ‘क्याप्टेन’जस्ता हिट फिल्म निर्देशन गरिसकेका दीवाकर भट्टराईले क्रिसमस छेकोमा शनिबार नयाँ प्रोजेक्ट घोषणा गरेका छन् ।

रोमान्टिक-कमेडी विधामा राखिएको फिल्म ‘हनी बनी’ निर्देशनमा उनले लन्डनको कम्पनी एबी इन्टरनेसनलसँग सहकार्य गर्ने भएका छन् । ‘हिरोइज्मभन्दा पनि चरित्रमुखी फिल्म हो यो’ नेपाल प्रेससँग भट्टराईले भने, ‘मार्च-अप्रिलदेखि हामी सुटिङमा जानेछौं ।’

कोरोनाभाइरस महामारीको अवस्था ठीकठाक रहे निर्धारित मितिमै फिल्मलाई छायांकन गर्ने तयारी छ । यसअघि स्पाइ-ड्रामा ‘पासवर्ड’ निर्माण गरेको एबी इन्टरनेसनलले अर्को बिग प्रोजेक्टको लागि भट्टराईसँग सहकार्य गरेको हो ।

६ करोड रुपैयाँ बजेट निर्धारण गरिएको फिल्मको छायांकन बेलायतका विभिन्न स्थानमा गर्ने तयारी छ । लोकेसन खोजीका लागि निर्देशक भट्टराई चाँडै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । आगामी सातादेखि कास्टिङ कल आह्वान गरिने भएको छ ।

‘फिल्ममा दुईजना शक्तिशाली पात्र छन् । सो पात्रलाई न्याय दिन सक्ने अभिनेता मलाई चाहिएको छ’ भट्टराईले नेपाल प्रेससँग भने, ‘यो हिरोभन्दा पनि चरित्रमुखी फिल्म हो । क्षमतावान जोसुकैले पनि कास्टिङमा भाग लिन सक्नुहुन्छ ।’

लन्डनमा बसोबास गर्ने दुई पात्रको सम्बन्ध र उतारचढाव यसको कथावस्तु हो ।

पटकथा र कथा फिल्मको सर्वाधिक बलियो पक्ष रहेको उनले बताए । दुईवर्षअघि नै फिल्म दर्ता भएपनि कोरोना महामारीको कारण प्रोजेक्ट अवरुद्ध भएको थियो । महामारीकै कारण दिवाकरकै अर्को फिल्म ‘तिमीसँगै हुने मन छ’ पनि अहिले अवरुद्ध छ । यी दुबै फिल्मको छायांकन मार्चदेखि जुनभित्र सम्पन्न हुने उनले जनाए ।

नेपाली फिल्ममा स्टाइलिस, ग्लसी र महंगा फिल्म निर्देशन गर्ने निर्देशकको रुपमा दीवाकर परिचित छन् । निर्माता कम्पनी एबी इन्टरनेसनलले पनि फिल्म ‘पासवर्ड’लाई दृश्यात्मकरुपमा फराकिलो बनाउने प्रयास गरेको थियो ।

फिल्म निर्माणमा एबी इन्टरनेसनलले नेपालकै गौतम प्रोडक्सन र भ्वाइस फिल्म लिमिटेडसँग सहकार्य गर्ने भएको छ । निर्माताको रुपमा अमित बस्नेत, अजित थापा र परी राना छन् । कार्यकारी निर्माताको रुपमा अंकित गौतम छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर