जनताका लागि भएको विकासको जस म लिन्न : गृहमन्त्री खाण – Nepal Press

जनताका लागि भएको विकासको जस म लिन्न : गृहमन्त्री खाण

रूपन्देही । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको विकासका लागि आफूले धेरै प्रयासहरु गरिरहेको भएपनि जस भने नलिने बताएका छन् ।

जनताबाट निर्वाचित भएपछि जनताका लागि नै गरिने विकासमा जस लिन नहुने उनले बताए ।

उनले भने – जननताले विकासका लागि नै जनप्रतिनिधि निर्वाचित गरेका हुन्, जे कामका लागि जनताले पठाएका हुन् त्यही काम गर्दा के जस लिनु।

बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौं बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाणले प्रदेशको राजधानी नहुँदैमा बुटवलको विकासमा कुनै फरक नपर्ने बताएका हुन् ।

आफ्नै इतिहास र बलबुताले बुटवल अहिलेको अवस्थामा स्थापित भएको उल्लेख गर्दै गृहमन्त्री खाणले राजधानी नरहेपनि बुटवलको विकास नरोकिने बताए ।

खाणले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको बताए ।

उनले गौतमबुद्ध सामुदायिक अस्पतालको लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुः खद रहेको उल्लेख गर्दै आफूले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने बताए ।

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुईवर्ष भित्र ८ सय बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्न आफूहरु तयार रहेकोले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्रीलाई आग्रह गरे ।

रुपन्देही उद्योग संघको संरक्षकत्वमा २०७० साल पुस १० गतेबाट सेवा संचालन गरेको अस्पतालले एकबर्षको अवधिमा ओपिडी, ईमर्जेन्सी र भर्ना गरी ४८ हजार ७२२ जना बिरामीलाई उपचार सेवा उपलब्ध गराएको छ ।

अध्यक्ष आलमले पैसाको अभावमा अस्पताल आएका बिरामीहरु उपचार सेवा लिनबाट बन्चित हुने अवस्था आउन नदिने दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर