चितवनमा २५ हजार मतदाता थपिने प्रक्षेपण – Nepal Press

चितवनमा २५ हजार मतदाता थपिने प्रक्षेपण

चितवन । चितवनमा मतदाता नामावली दर्ता कार्य तीव्र बनेको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार पछिल्लो १८ दिनमा झण्डै १० हजार जनाले मतदाता नामावली दर्ता गराएका छन् ।

प्रमुख जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले मंसिर १७ यता हालसम्म ९ हजार ७ सय ६३ जनाले नाम दर्ता गराएको बताए । जसमध्ये महिला ४ हजार ५ सय ४५ जना र पुरुष ५ हजार २ सय १८ जना छन् ।

मंसिर १६ सम्म चितवनमा नाम दर्ता गराउनेको संख्या ३ लाख ८० हजार ५ सय ५८ पुगेको थियो । अभियान सुरु हुनु पहिलेको १६ दिनको अवधिमा जिल्ला निर्वाचन कार्यालयबाट १ हजार ४ सय ३८ जना र जिल्ला प्रशासनबाट ३ सय ९९ जनाले मतदाता नामावली दर्ता गराएका थिए ।

पहिलो चरणमा ३ स्थानीय तहमा ३ हजार ५ सय ४२ जना र दोस्रो चरणमा गरिएको अभियान अन्तर्गत ३ स्थानीय तहमा १ हजार ७ सय ८८ जनाले मतदाता नामावली दर्ता गराएका छन् ।

मतदाता नामावली संकलन विशेष कार्यक्रम मंसिर १७ देखि सुरु भएको थियो । पुस २ गते सकिएको पहिलो चरणको कार्यक्रम अन्तर्गत माडी नगरपालिकामा १ हजार ५ सय ५५ जना, कालिका नगरपालिकामा १ हजार ३ सय ७७ जना र इच्छाकामना गाउँपालिकामा ६ सय १४ जनाले नाम दर्ता गराएका छन् ।

यस्तै पुस ४ देखि सुरु भएको दोस्रो चरणको अभियान अन्तर्गत रत्ननगर नगरपालिकामा ४ सय ८२ जना, राप्ती नगरपालिकामा ७ सय ६९ जना र खैरहनी नगरपालिकामा ५ सय ३७ जनाले नाम दर्ता गराएका छन् । बसेकै स्थानीय तहबाट दर्ता गराउन छुटेका, बाहिरी जिल्लाको स्थायी ठेगना भएका, भरतपुर महानगरमा बसोबास गर्नेहरुको नामावली जिल्ला निर्वाचन कार्यालयमै दर्ता गर्नुपर्ने व्यवस्था छ ।

जिल्ला निर्वाचन कार्यालयबाट मंसिर १७ यता २ हजार ६ सय १३ जनाले दर्ता गराएका छन् । नागरिकता लिए लगत्तै मतदाता नामावलीमा दर्ता गराउन सहजताका लागि भदौदेखि जिल्ला प्रशासन कार्यालयमा पनि दर्ता स्थल राखिएको छ ।

जिल्ला प्रशासनमा अभियान सुरु भएयता १ हजार ३९ जनाले नाम दर्ता गराएका छन् । पहिलो चरणमा छुटेका माडीका स्थानीयलाई इलाका प्रशासन कार्यालयमै पुस ५ देखि दर्ता स्थलको व्यवस्था गरेर दर्ताको सुविधा दिइएको छ । त्यहाँबाट हालसम्म २ सय ९ जनाले नाम दर्ता गराएका छन् ।

बसाइँसराई नगरि अस्थायी रुपमा चितवनमा बसोबास गर्नेले स्थायी ठेगनाकै ठाउँमा मतदान गर्ने गरि (ओडिआर) दर्ता गराउने ५ सय ७२ जना छन् । प्रमुख कार्कीले नागरिकतामा उल्लेखित ठेगनाकै आधारमा मतदाता परिचयपत्र बन्ने बताए ।

स्थायी ठेगाना भन्दा फरक ठाउँमा बसोबास गर्नेले नाम दर्ता गर्न चाहेमा बसाइँसराइको प्रमाणपत्र वा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी विना अन्यत्रको ठेगानाबाट नाम दर्ता गर्न नसकिने बताए ।

‘निर्वाचनको मिति घोषणा भए लगत्तै नाम दर्ताको काम तत्कालै रोकिनेछ’, उनले भने, ‘बेलैमा नाम दर्ता गराएर मतदान गर्न पाउने अधिकार प्रयोग गरौँ।’

२०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चितवनमा ३ लाख ५४ हजार ३६ जना मतदाता थिए । यस्तै स्थानीय तहको निर्वाचनमा ३ लाख १३ हजार ३ जना मतदाता थिए ।

२०७७ पुस ५ मा नामावली दर्ता गराएकामध्ये १८ वर्ष पुगेका मतदान योग्य मतदाता ३ लाख ६८ हजार ३ सय ८२ जना थिए । जिल्लामा ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ६ प्रदेश सभा निर्वाचन क्षेत्र, १ सय ६१ मतदान स्थलमा ४ सय ८ वटा मतदान केन्द्र थिए ।

१६ वर्ष उमेर पुगेपछि नागरिकता प्राप्त गर्न सकिन्छ । नागरिकता भएकाले फोटो सहितको मतदाता नामावली दर्ता गर्न पाउँछन् । १८ वर्ष पुगेकाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर