देउसी खेलेर बनाएको ‘रिचार्ज पोखरी’ले राहत, खडेरीमा पनि सहजै पिउनेपानीको सुविधा – Nepal Press

देउसी खेलेर बनाएको ‘रिचार्ज पोखरी’ले राहत, खडेरीमा पनि सहजै पिउनेपानीको सुविधा

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका– ९ अर्घामा रहेको काफलपानी पधेराबाट यस क्षेत्रका करिब ५० परिवारले पिउनेपानी प्रयोग गर्छन । तर तीन वर्षअघि हिउँदा यो पधेरो सुक्यो । पिउनेपानीको स्रोत नै बन्दभएपछि स्थानीयहरु लामो दूरीमा रहेको अर्को पोखरीबाट पानी ल्याउन बाध्य भए । युवा युवतीहरु कम भएको गाउँमा पानी टाढाबाट बोक्न परेपछि स्थानीयलाई निकै सास्ती भयो ।

तर गतवर्ष ठूलो खडेरी लाग्दा पनि पानी नसुकेपछि स्थानीय दंग छन् । स्थानीय युवा व्यवसायी कृष्ण प्रसाद भुसाल र पत्रकार समेत रहेका व्यवसायी हरिप्रसाद भुसालको नेतृत्वमा शुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्षअघि नेटाकापोखरामा पोखरी खनेपछि काफलपानी पधेराको पानी नसुकेपछि स्थानीय दंग बनेका छन् । ‘दुई तिनवर्ष अघि सामान्य खडेरीमा पनि सुक्न थालेको पधेरो यो पोखरी खनिएपछि गतवर्ष ठूलो खडेरीमा पनि सुकेन’ स्थानीय जिव बहादुर दमाइले भने ।

नेटाकापोखरा मात्र होइन दुई वर्षअघि शुरु भएको दश घर एक पोखरी अभियानले अर्घाखाँची जिल्लाका तीन दर्जनभन्दा बढी स्थानमा साना ठूला पोखरीहरु निर्माण गरेको थियो । अफूहरुले खनेका पोखरीहरुका कारण धेरै ठाउँमा हिउँदमा पानी नसुकेको अभियन्ता कृष्ण प्रसाद भुसालको भनाइ छ । त्यतिबेला विभिन्न व्यक्तिहरुको करिब १ लाख सहयोगमा विभिन्न ठाउँमा पोखरीहरु निर्माण गरिएको थियो । बढ्दो जलवायु परिवर्तन रोक्नको लागि सानो सहयोग भन्नका लागि आफुहरुले अभियान शुरु गरेको भुसालले बताए ।

दुई वर्षअघि खनेका पोखरीहरुले खडेरीमा समेत मूल मर्न नदिएको देखेपछि हौसिएका अभियन्ताहरुले गएको एकादशीमा देउसी खेल्ने निर्णय गरे । भुसाल दाजुभाइको प्रस्तावमा सहमत जनाउदै लायन्स क्लव अफ अर्घाखाँचीले समेत भैलोलाई साथ दिने निर्णय गर्यो । अनि लायन्स क्लव अफ अर्घाखाँचीसंगको समन्वयमा दश घर एक पोखरी अभियानले करीव १ लाख रुपियाँ जम्मा गर्न सफल भयो । अहिले यही पैसाबाट पोखरीहरु निर्माण भैरहेका छन् ।

देउसीबाट संकलन भएको पैसा मध्येबाट करिब ५० हजारको लागतमा चारओठा ठूला र एकओटा साना पोखरी निर्माण गरिएको छ भने अन्य स्थानको खोजी भैरहेको अभियन्ता हरिप्रसाद भुसालले बताए । ‘अग्लो ठाउँमा रहेका र स्थानीय सरकारहरुको ध्यान नपुगेका लोपुन्मुख पोखरीहरु हामीले खनिरहेका छौं’, भुसालले भने ।

विकासको क्रममा बाटो, खेल मैदान, अनि संरचनाहरु निर्माण हुँदा धेरै ठाउँमा पोखरीहरु पुरिएको र पोखरीहरु पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन बढेको निष्कर्षसहित भुसाल बन्धुहरुले दशघर एक पोखरी अभियानको कल्पना गरेका थिए ।

स्थानीय जनताबाट सद्भाव र सहयोग प्राप्त भएपनि सरकारी तहबाट कुनै सहयोग नपाएको भुसालले बताए ।

दश घर, एक पोखरी अभियानको विषयमा आफूले पनि सुनेको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *