अपायक ठाउँमा यातायात कार्यालय स्थापना हुनेभएपछि सेवाग्राही रुष्ट – Nepal Press

अपायक ठाउँमा यातायात कार्यालय स्थापना हुनेभएपछि सेवाग्राही रुष्ट

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले कपिलवस्तु र नवलपरासीमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णयसँगै सहजता महसुस गरेका सेवाग्राही अपायक स्थानमा कार्यालय स्थापनासँगै रुष्ट बनेका छन् ।

कपिलवस्तु जिल्लामा स्थापना हुने कार्यालयले अर्घाखाँची र कपिलवस्तु दुबै जिल्लालाई लक्षित गरिएको थियो । निर्णयसँगै दुवै जिल्लाका नागरिकले सामाजिक सँजालमा पायक पर्ने गरी राख्न अनुरोध गरिएको थियो ।

सोही अनुसार केहीले कपिलवस्तुका राजमार्ग क्षेत्र र अर्घाखाँचीका जनताले बुद्धभूमि नगरपालिका र कपिलवस्तुका दक्षिणी भेगका जनताले जिल्ला सदरमुकाम तौलिहवामा राख्ने गरी आवाज व्यक्त गरेका थिए ।

चर्चा चलेसँगै बुद्धभूमि नगरपालिकाले भवनसहितको जग्गा व्यवस्थापन गर्ने भन्दै मन्त्रालयसँग अन्तरक्रिया गरेको थियो । दुबै जिल्लालाई सहज हुने भन्दै गरिएको अन्तरक्रियामा मन्त्रालयका सचिव दीपकराज नेपालले तौलिहवामा स्थापना गर्ने निर्णय भएकाे बताएपछि अन्तरक्रियाका सहभागी जिल्ल बने । तौलिहवाबाट पटक पटक डेलिकेशन गएपछि कार्यालयको विषयमा निर्णय भएको सुनाइएको थियो ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद चेतनारायण आचार्यले सरकारले यसअघिको सहमति विपरीत काम गरेर विवादमा तानेको बताए ।

उनले भने – पायक पर्ने भनेर सार्ने तर अर्घाखाँचीबाट तौलिहवा जान तीनपटक गाडी फेर्नुपर्छ, यस्तो विभेद नि सुहाउँछ ? यो सरासर अन्याय हो ।

लुम्बिनी प्रदेश सरकारलाई सहभागिहरुले निर्णय सच्याउन आग्रह गरेका थिए । दुबै जिल्लाका जनप्रतिनिधिसँग छलफल गरी पायक पर्ने ठाउँमा कार्यालय खोल्न दवाव दिएका थिए ।

अर्घाखाँची र कपिलवस्तुलाई लक्षित गरी स्थापना गर्न लागिएको यातायात व्यवस्था कार्यालयलाई पायक पर्ने स्थानमा राख्न माग गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा स्थापना गर्न लागेको यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीलाई सहज गराउने गरी स्थान तोक्न श्रम, रोजगार, यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगा मगरसँग अनुरोध गरिएको थियो ।

मन्त्री पुर्मती ढेगामगरले कार्यालयको स्थान परिवर्तन गर्न सकिने प्रतिबद्धता जाहेर गरेकी थिइन्। प्रदेश सरकारले सबै क्षेत्रको भावना समेटने भएकोले जग्गा व्यवस्थापन र जनप्रतिनिधिको समन्वयमा कार्यालय राख्न सकिने उनले बताइन ।

मन्त्रालयका सचिव दीपकराज नेपालले सेवा कार्यालयबाट सवारी दर्ता बुक नविकरण (ब्लु बुक), सवारी अनुमति पत्र नवीकरण, भाडाको सवारी साधनको जाँच पास, रुट परमिट नविकरण र अस्थायी इजाजतपत्र (पटके)को काम हुने बताए । पछि लाइसेन्सको ट्रायल सेन्टरसमेत खोलिने नेपालले स्पस्ट पारेका थिए ।

बुद्धभूमि नगरप्रमुख केशव कुमार श्रेष्ठले दुबै जिल्लाको साझास्थल बुद्धभूमि २ गोरुसिंगे रहेकोले पायक पर्ने स्थानमा कार्यालय संचालन गर्नु पर्ने बताए । प्रदेश सरकारले अर्घाखाँची र कपिलवस्तुका सेवा ग्राहीलाई सेवा दिनका लागि कपिलवस्तुमा कार्यालय राख्ने निर्णय गरिएको थियो ।

जनता समाजवादी दलका केन्द्रीय सदस्य नारायण प्रसाद खनालले अर्घाखाँचीका क्षेत्रका जनताको मनोभावना बुझी सबैलाई सजिलो हुने स्थानमा कार्यालय खोल्न प्रदेश सरकारसँग माग गरे ।

दुई जिल्लाको लागि तौलिहवा पायक नहुने भन्दै गोरुसिंगेबाहेक अन्य विकल्प नभएको बताए । कार्यालयको विषय अन्तरक्रिया राख्न जसपा केन्द्रीय समितिका सल्लाहकार विष्णुहरि शर्माले समन्वय गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर