बजगाईले फिर्ता लिए देउवाविरुद्धको उजुरी – Nepal Press

बजगाईले फिर्ता लिए देउवाविरुद्धको उजुरी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध अनुशासनको कारबाही माग गर्दै गोरखा महासमिति सदस्य राजेन्द्र बजगाईंले दिएको उजुरी साढे २ वर्षपछि फिर्ता लिएका छन् ।

बजगाईंले चितवनमा चुनावमा माओवादीसँग गठबन्धन गरेको, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा समर्थन जनाएकोजस्ता विषय उठाएर देउवाले पार्टी र संसदीय व्यवस्थाकै अहित गरेकाले अनुशासन कारबाहीको मागसहित २०७५ चैत १४ मा पार्टी कार्यालयमा उजुरी दर्ता गरेका थिए ।

पार्टी नेतृत्वमा देउवाले भारी मत प्राप्त गरिसकेको र आफ्नो निवेदनको औचित्य पनि सकिएको भन्दै बजगाईले उजुरी फिर्ता लिएका छन् ।

बजगाईको उजुरी फिर्तासम्बन्धी निवेदन जस्ताको तस्तै:

२०७८ पौष ९

श्रीमान् सभापति ज्यू,
नेपाली कांग्रेस केन्द्रीय कार्यालय

विषय: निवेदन फिर्ता सम्बन्धमा।

संसदीय अभ्यासको सर्वमान्य सिद्धान्त अनुरूप तात्कालीन प्रधानमन्त्री श्री केपी ओली ज्यूको सरकारको निति र कार्यक्रम माथि प्रमुख प्रतिपक्ष दल हाम्रो पार्टी प्रतिपक्षको भूमिकामा थियो भने संसदीय दलको नेतामा सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवा हुनुहुन्थ्यो। १४औं महाधिवेशन बाट पुन: पार्टी सभापतिमा विशाल पार्टी -अभिमतबाट चुनिनु भएका प्रधानमन्त्री माथि मैले नैतिक प्रश्न उठाएको थिएँ।

मैले मिति २०७५/१२/१४ (११५ दर्ता नम्बर) मा कांग्रेस केन्द्रीय कार्यालयमा राखेको निवेदन लगतै श्रदेय सभापतिमाथि मेरो निवेदनलाई लिएर दाङ जिल्लाको पार्टी कार्यक्रममा एक प्रश्न सोधिएको थियो। प्रत्युत्तरमा उहाँबाट ‘कांग्रेस यसकारण पनि लोकतान्त्रिक पार्टी हो कि यहाँ नेताहरूको विरुद्ध पनि बोल्ने निवेदन गर्ने छुट छ’ सभापति ज्यूको त्यो संयोग अत्यन्तै शालीन थियो। मैले निवेदनमा पुनर्विचार गर्ने बिचार गरेर उहाँ पाँचौं पटक प्रधानमन्त्री नबन्दै र १४ औं अधिवेशनको संघारमा उहाँलाई निवासमै गएर भेट्दा उहाँबाट कुनै रोष वा नराम्रो प्रतिक्रिया भएन न निर्देशन वा आग्रह नै।उक्त क्षणमा पनि राखेको निवेदनमा मैले पुन: प्रतिक्रिया केहि छकि भनेर सोधें उहाँबाट म माथि दबाव हैन बरू ‘टेक ईट ईजी’ भनेर अत्यन्त भद्र उत्तर आयो। यि कारणहरूले गर्दा मैले १४ औं महाधिवेशन अगावै निवेदन फिर्ता लिंदा गलत टिप्पणी र अर्थहरू फैलिने सम्भावना देखेर त्यसो गरिन।

बदलिंदो परिस्थितिमा हामिले विघटित संसद देखि पुनर्स्थापित संसद मात्र नभएर संवैधानिक पुनर्ब्याख्यामा परमादेशबाटै प्रधानमन्त्री पाईसक्यौं जस्ले आफ़्नो नेतृत्वमा भारी पार्टी-अभिमत प्राप्त गरिसक्नु भएको छ, यसकारण पनि मैले मेरो निवेदनको औचित्य समाप्त भएको महसूस गरें। श्रदेय सभापति तथा सम्माननीय प्रधानमन्त्रीको पुनरागमन लाई पार्टीका साथीहरूले परिपक्क नेतृत्वको अवश्यकता ठान्नु भएको भन्ने बुझ्दै उहाँहरू संग विगत २५ वर्ष राजनैतिक सहकार्य व्यतित् गरेको स्मरण गर्दै उक्त निवेदन फिर्ता लिने घोषणा गर्दछु/ जय नेपाल!

राजेन्द्र बजगाई

महासमिति सदस्य गोरखा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर