पदाधिकारीमा लुम्बिनीबाटै दर्जन बढी आकांक्षी – Nepal Press
माओवादी राष्ट्रिय सम्मेलन

पदाधिकारीमा लुम्बिनीबाटै दर्जन बढी आकांक्षी

महासचिवमा महरा र वर्षमान भिड्दा जनार्दनलाई फाइदा हुनसक्ने

काठमाडौं । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिएसँगै नेतृत्वका विषयमा चासो बढ्न थालेको छ । माओवादीले विशेष आधार इलाका मानेको लुम्बिनीबाट महासचिवसहित पदाधिकारीमा एक दर्जनभन्दा बढीले आकांक्षा व्यक्त गरेका छन् ।

माओवादीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा लुम्बिनी प्रदेशका कृष्णबहादुर महरा र वर्षमान पुन आपसमा लड्दा नेता जनार्दन शर्मालाई फाइदा पुग्ने सम्भावना बढेको यहाँका माओवादी नेताहरुले बताएका छन् ।

महरा र पुन एकबेलाका गुरु–चेला भएपनि अहिले माओवादीको महासचिवमा दुवैको सशक्त दाबी छ । पुन माओवादी अध्यक्ष प्रचण्डका खास निकट मानिन्छन् । यसैले प्रचण्डले उनैलाई च्याप्नसक्ने धेरेको अनुमान छ ।

संसदीय अभ्यासमा धेरै अनुभव भएका नेता महरालाई अगाडि बढाउनुपर्ने अन्य नेताहरुको दबाब थेग्न पनि प्रचण्डलाई मुस्किल हुने कतिपयको आँकलन छ । महरा पक्षले ओनसरी घर्तीलाई पदाधिकारीमा समेटेर वर्षमानलाई महासचिव नदिने गरी नेताहरुसँग लबिङ पनि थालेका छन् ।

केही समयदेखि उनी बिरामी परेकाले र महासचिव धेरै सकृय हुनपर्ने पद भएकाले पनि उनले थेग्न नसक्ने दाबी महरानिकट नेताहरु बताउँदै आएका छन् ।

लुम्बिनीबाट वर्षमान पुन, कृष्णबहादुर महरा, ओनसरी घर्ती, जयपूरी घर्ती, चक्रपाणि खनाल बलदेव, डिलाराम आचार्य, महेश्वर गहतराज, हकिकुल्लाह खाँ पदाधिकारीका दाबेदार हुन् ।

लुम्बिनीबाट केन्द्रीय कमिटीमा दामा शर्मा, आइपी खरेल, रामलौटन तिवारी, घनश्याम यादव, बामदेव क्षेत्री, विनोद पहाडी, मब्सुद अली, सीता पौडेल, नारायण अधिकारीलगायत अग्रमोर्चामा छन् ।

लुम्बिनीबाट माओवादी जनयुद्धमा लामो समय विशेष जिम्मेवारी सम्हालेका नेता टोपबहादुर रायमाझी, मणि थापा, दधिराम न्यौपाने एमएस, चन्द्रबहादुर खड्का, गिरीधारीलाल न्यौपाने, नबिन थापामगर, अनुप बराल, दिनेश पन्थी, पूजा कार्कीलगायतका पुराना नेताहरु एमालेमा लागेकाले पनि माओवादीलाई आफ्नो पुरानो साख जोगाउन चुनौती थपिएको छ । यसका साथै माओवादीबाट अलग भएका विप्लव र वैद्यको मुख्य क्षेत्र तथा गृहजिल्ला पनि यही प्रदेशमा भएकाले माओवादीको संगठन कमजोर बनेको हो ।

लुम्बिनी प्रदेशबाट माओवादी सम्मेलनका लागि १ सय ५ जना प्रतिनिधि छानिएको र उनीहरु आफ्नो आफ्नो तरिकाले सम्मेलनमा सहभागी हुने माओवादी लुम्बिनीका नेता सुदर्शन बरालले जानकारी दिए । ‘राष्ट्रिय सम्मेलन भएकाले प्रतिनिधिबाहेक अरु सहभागी हुने कुरा भएन, प्रतिनिधि कमरेडहरु आफ्नो खर्चमा जानुहुन्छ, दुई हजार दस्तुर दिनुहुन्छ अनि आकांक्षी भए अगाडि बढ्नुहुन्छ नभए केन्द्रीय समिति चुनेर फर्किनुहुन्छ’, नेता बरालले भने ।

यसबाहेक आयोजकको तर्फबाट ५० जना लुम्बिनीबाट छन् ।

माओवादी नेता जगप्रसाद शर्मा अपारका अनुसार राष्ट्रिय सम्मेलनले केन्द्रीय समिति मात्र छान्ने र त्यो समितिले अध्यक्ष तथा पदाधिकारी छान्ने छ ।

अहिले माओवादीको पदाधिकारी छान्दा जनमोर्चाबाट असन्तुष्ट भएकाहरु र विप्लवसँग रहेकाहरुलाई विशेष ध्यान दिने भएकाले पदाधिकारी छान्न ढिलो हुनसक्ने नेताहरुको अनुमान छ ।

सकेसम्म विप्लवको सबै टिमलाई नै ल्याउने नभए, त्यो टिममा असन्तुष्ट रहेका, जनमोर्चाबाट छुट्टिएकालाई पनि समेटेर टिम बन्ने भएकाले सुरुमा अध्यक्षबाहेक अरु पदाधिकारी नटुंगिने संभावना बढी भएको माओवादी नेताहरुको आंकलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर