प्रचण्डको राजनीतिक दस्तावेजमाथि छलफल गर्न माओवादीले बोलायो स्थायी समिति बैठक – Nepal Press

प्रचण्डको राजनीतिक दस्तावेजमाथि छलफल गर्न माओवादीले बोलायो स्थायी समिति बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेजमाथि छलफल गर्न स्थायी समिति बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो ।

पुस ११–१३ मा हुने राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक दस्तावेज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखिरहेका छन् । उनले लेखन करिब–करिब टुंग्याएपछि बैठक बोलाइएको हो ।

दस्तावेजमाथि स्थायी समिति बैठकमा छलफल भएपछि प्राप्त सुझावहरुलाई समेत समेटेर अन्तिम रुप दिइने स्थायी समिति सदस्य गणेस साहले जानकारी दिए।

प्रचण्डले आफ्नो दस्तावेज वैज्ञानिक समाजवादको रणनीतिलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा बढी जोड दिएको बताएका छन् ।

‘मैले अहिले दस्तावेज लेख्ने बेलामा पनि विश्वको स्थिति के छ भन्ने कुरामा एउटा, विज्ञान प्रविधिको विकासले अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ ? उत्पादन सम्बन्धमा के कस्तो असर पारेको छ ? नेपालकै समग्र ऐतिहासिक विकासको सन्दर्भमा कहाँ आइपुगेका छौँ र आजको विन्दु के हो ? भन्ने कुराको खोजी गर्नुपर्नेछ। संविधानले समाजवादउन्मुख राज्य भनेर दिशा निर्देश त एउटा गर्‍यो, तर हामी फेरि वैज्ञानिक समाजवादका पक्षधर हुनुको नाताले समाजवादको रणनीतिलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा मेरो अलि बढी जोड छ,’ न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा प्रचण्डले भनेका छन् ।

माओवादीले यसपालीको राष्ट्रिय सम्मेलन विचारमा केन्द्रित हुने बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर