नेपाल-भारत सुरक्षा अधिकारी बैठक: उत्तर प्रदेशको आसन्न विभानसभा चुनावमा केन्द्रित – Nepal Press

नेपाल-भारत सुरक्षा अधिकारी बैठक: उत्तर प्रदेशको आसन्न विभानसभा चुनावमा केन्द्रित

रूपन्देही । नेपालको नवलपरासीदेखि कन्चनपुरसम्म र भारतको उत्तर प्रदेशका विभिन्न जिल्लाका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक बसेको छ ।

नेपाल–भारत सीमामा दुबै तर्फका १५ जिल्लाका प्रहरी र प्रशासनसंग सम्बद्ध उच्च पदस्थ सुरक्षा अधिकारीहरुको संयुक्त समन्वय बैठक बाँकेको नेपालगञ्जमा बसेर नयाँ रणनीति बनाएको हो ।

भारतको उत्तरप्रदेशमा केही समयपछि हुने विधानसभाको निर्वाचन, सीमा सुरक्षाका आगामी रणनीति तथा सीमावर्ती क्षेत्रका अन्य विषयहरु बैठकका प्रमुख एजेन्डा बनेका थिए । सधैं यस्ता बैठकका लागि नेपाली पक्षले आग्रह गर्नुपर्ने भएपनि यसपटक भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको हो ।

बैठकमा भारतका ७ जिल्ला र नेपालका ८ सीमावर्ती जिल्ला गरी नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

उनले सो समन्वय बैठकमा दुबै पक्षबाट सीमानामा हालको अवस्था र समन्वय तथा सुरक्षाका बारेमा जानकारी गराइएको बताए । भारतको उत्तर प्रदेशमा हुने विधानसभाको निर्वाचनको बेला सीमानामा कडा सुरक्षा गर्नुका साथै कुनैपनि प्रकारको अवैध घुसपैठ रोक्न दुबै देशका सुरक्षा अधिकारीहरु सहमति भएको पनि प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए ।

उक्त बैठकमा नेपाल–भारत सीमा क्षेत्रका जनताबीच सुमधुर सम्बन्ध निरन्तर कायम राख्न दुबै क्षेत्रका अधिकारीहरुले विशेष ध्यान दिनुपर्ने, सीमाक्षेत्रमा बढ्दो अपराधहरु नियन्त्रणका लागि समन्वय र सहकार्य गरिनुपर्ने, लागूऔषध तथा अबैध ओसारपसार, मानव बेचविखन, सीमा क्षेत्रमा एक अर्को राष्ट्रप्रति हुनसक्ने अवाञ्छित क्रियाकलाप मिलेर रोक्नुपर्ने लगायत विषयमा सहमति बैठकमा गरिएको छ ।

बैठकमा भारतीय पक्षबाट गोरखपुर क्षेत्रका एआईजी अखिल कुमार, देबीपाटन क्षेत्रका डीआईजी उपेन्द्र कुमार अग्रवाल, महाराजगञ्ज जिल्लाका क्षेत्रका डिएम शैलेन्द्र कुमार र एसपी प्रदिप गुप्ता, सिदार्थनगर जिल्लाका डीएम दिपक मिना र एसपी एसभिर सिंह, बलरामपुर जिल्लाका डीएम श्रृती र एसपी हेमन्त कुटियाल, श्रावस्ती जिल्लाका डीएम नेहा प्रकाश र एसपी अरबिन्द कुमार मौर्य, बहराइच जिल्लाका डिएम दिनेशचन्द्र र एसपी सुजता सिंह, लखिमपुर जिल्लाका डिएम महेन्द्र बहादुर सिंह र एसपी संजिव कुमार सिंह, पिलिभित जिल्लाका डिएम पुलकित खरी र एसपी दिनेश कुमार, एसएसबी अधिकारीहरुमा सम्बन्धित जिल्लाका कमाण्डरहरु बर्जित सिंह, मनोज कुमार सिंह, अमित सिंह, अशोक बिश्वास, उपेन्द्र कुमार रावत, रबिन्द्र कुमार राज्यश्वरी, सर्वजित सिंह, दपन कुमार दास, दामोदर प्रशाद मिना, यतिन नेगी, मुन्ना सिंह र गोबिन्द सिंह लगायतका अधिकारीहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी नेपालको तर्फबाट लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका जिल्ला भारतसंग छोएका जिल्ला बांके, बर्दिया, कैलाली, कञ्चनपुर, दांग, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र र जनपद प्रहरी प्रमुखहरु, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरुको सहभागिता रहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर