माओवादी केन्द्रको प्रदेश-१ अध्यक्षमा हर्क नेम्वाङ विजयी – Nepal Press

माओवादी केन्द्रको प्रदेश-१ अध्यक्षमा हर्क नेम्वाङ विजयी

काठमाडाैं । नेकपा माओवादी केन्द्रको प्रदेश-१ अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । नेतृत्व तथा पदाधिकारीका लागि हिजो भएको निर्वाचन प्रक्रियाबाट उनी लोकप्रिय मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

माओवादीले प्रदेश सम्मेलन मंसिर २५ र २६ गते नै गरेको भए पनि नेतृत्वका आकांक्षी धेरै हुँदा पदाधिकारी चयन गर्न सकेको थिएन । त्यतिबेला छानिएका २ सय ४० प्रदेश सदस्यहरुबीच मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको हो ।

अन्तिम मतपरिणामअनुसार हर्कले १ सय ६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्सामहाङ म्याङवोले ६४ मतमात्र ल्याए । अन्तिम समयसम्म अध्यक्षका लागि प्रयास गरिरहेका शिवकुमार डाँगीले अन्तिममा उपाध्यक्षमा सहमत भएका थिए । उनी ११३ मतसहित विजयी भए ।

नवनिर्वाचित अध्यक्ष हर्कबहादुर नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् ।

उपाध्यक्षमा १२० मतसहित विजयी भएका देवान चाम्लिङले पनि अध्यक्षमा दावी गरेका थिए । ३ उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको थियो । मणि कुमार राईले १११ मत ल्याएर उपाध्यक्षमा जित हासिल गरे । अध्यक्षमा दावी गरेका मोहन खत्री भने उपाध्यक्षमा पराजित भए । उपाध्यक्षमा दुई महिला पनि प्रतिस्पर्धामा थिए । तर उनीहरु पराजित रहे ।

सचिवमा गणेश उप्रेती १४८ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी सीपी कडरियाले ८३ मतमात्र ल्याए । सहसचिवमा ऋषिराम ढुंगाना (९५), कुमारी राई (११४) र सागर किराँती (७३) विजयी भए । खतीन सहसचिवका लागि १४ जनाको उम्मेदवारी परेको थियो ।

कोषाध्यक्षमा रेवत राज पुरीले जित हाल पारे । उनले ९३ मत ल्याए । कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर