२० टेस्ट मात्र खेलेका लाबुस्चांगे टेस्ट वरीयताको नम्बर १ मा – Nepal Press

२० टेस्ट मात्र खेलेका लाबुस्चांगे टेस्ट वरीयताको नम्बर १ मा

काठमाडौं । अष्ट्रेलियाका युवा ब्याट्सम्यान मार्नस लाबुस्चांगे विश्व टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । मात्र २० वटा टेस्ट खेलेर उनले यो उपलब्धी हासिल गरेका हुन् ।

हाल अष्ट्रेलियामा जारी रहेको एसेज टेस्ट सिरिजमा लाबुस्चांगेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दुई टेस्टका चार इनिङमा उनको ब्याटबाट एक शतक र दुई अर्धसतक निकिस्कसकेको छ । यही प्रदर्शनको बलमा उनी पहिलोपटक नम्बर १ टेस्ट ब्याट्सम्यान बन्न पुगेका हुन् ।

एसेज सुरू हुनुअघि उनी वरियतामा चौथो स्थानमा थिए । दुई टेस्ट सकिँदा उनले करिअरकै उच्च ९१२ रेटिङ प्वाइन्टसहित ईंग्ल्यान्डका जोय रुटलाई पछि पार्न सफल भए । यसअघि शीर्षस्थानमा रहेका रुट राम्रो लयमा हुँदाहुँदै दोस्रो स्थानमा धकेलिएका छन् । तेस्रो, चौंथो र पाचौं स्थानमा क्रमशः स्टिभ स्मिथ, केन विलियम्सन र रोहित शर्मा रहेका छन् ।

सन् २०१९ मा टेस्ट क्रिकेटमा डेब्यू गरेयता लाबुस्चांगेको प्रदर्शन निरन्तर उत्कृष्ट छ । उनलाई स्मिथको स्थानमा अष्ट्रेलियन टिममा भित्र्याइएको थियो । २० टेस्ट खेल्दा उनले ६२.१४ को औसतमा ब्याटिङ गरिरहेका छन् ।

आजम टी-२० को शीर्षस्थामा फर्किए

पाकिस्तानी क्रिकेट टिमका कप्तान तथा ओपनिङ ब्याट्सम्यान बाबर आजम टी-२० वरीयताको शीर्षस्थानमा फर्किएका छन् । अघिल्लो साता नम्बर एकबाट दुईमा धकेलिएका आजम फेरि पूर्ववत स्थानमा आएका हुन् । वेस्टइन्डिजविरुद्धको अन्तिम टी-२० म्याचमा आजमले अर्धशतक प्रहार गरेका थिए ।

पाकिस्तानकै अर्का ओपनर मोहम्मद रिजवान पनि पहिलोपटक टी-२० वरीयताको टप थ्रीभित्र अटाएका छन् । सन् २०२१ मा कीर्तिमानी रन बनाएका रिजवानले वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर