जसपाका प्रभावशाली नेता मंगल गुप्ताले एमाले रोजे, स्वागत गर्न ओली कपिलवस्तुमा – Nepal Press

जसपाका प्रभावशाली नेता मंगल गुप्ताले एमाले रोजे, स्वागत गर्न ओली कपिलवस्तुमा

कपिलवस्तु । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तुका प्रभावशाली नेता मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गर्दैछन् ।

गुप्ता आफ्ना सहयोगी र समर्थकहरुसहित आज एमाले प्रवेश गर्न लागेका हुन् । गुप्ताको टोलीलाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली स्वयं कपिलवस्तु पुग्दैछन् ।

कपिलवस्तुको वहादुरगञ्जमा पार्टी प्रवेशको कार्यक्रम राखिएको एमाले केन्द्रीय सदस्य सिराज फारुकीले बताए । यसअघि एमाले अध्यक्ष ओली,उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुसँग गुप्ताले बालकोटमै पुगेर भेट गरेका थिए ।

गुप्ता कपिलवस्तु क्षेत्र नम्बर ३ बाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो स्थानमा थिए । कांग्रेसका अभिषेकप्रताप साहले २० हजार मत प्राप्त गरेर जित्दा उनले करीव १६ हजार मत प्राप्त गरेका थिए ।

एमाले तुलनात्मक रुपमा कमजोर रहेको सो क्षेत्रमा अघिल्लो निर्वाचनमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका ईश्वरदयाल मिश्र सूर्य चिन्हबाट उम्मेदवार हुँदा १४ हजार मतसहित तेस्रो स्थानमा थिए ।

पश्चिम कपिलवस्तुका लोकप्रिय नेता मंगल गुप्ता एमाले प्रवेश गरेपछि अब जित्ने आधार बलियो भएको कपिलवस्तुका एमाले नेताहरु बताउँछन् ।

लामो समय कपिलवस्तुमा राजनीति गरेका मंगलप्रसाद गुप्ता कांग्रेस, तमलोपा, फोरमबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए । २०४७ र २०५६ मा कांग्रेसबाट उम्मेदवार भएका उनी २०७० मा तमलोपा र २०७४ मा फोरमबाट लडेका थिए । तर सबै चुनावमा उनी थोरै मतले पराजित हुँदै आएका छन् ।

छोराबुहारी अमेरिकामा रहेका ७३ वर्षीय गुप्ता पनि जानेआउने गर्दछन् । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा लामो समय राजनीति गरेका उनको एमाले प्रवेशसँगै सो क्षेत्रमा एमाले बलियो हुने एमाले नेता विष्णु पन्थीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर