क्रिकेट रंगशालाको स्वामित्व लिन सरकारलाई फाउन्डेसनले पठायो पत्र – Nepal Press

क्रिकेट रंगशालाको स्वामित्व लिन सरकारलाई फाउन्डेसनले पठायो पत्र

काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको स्वामित्व लिनका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले संघीय सरकार र भरतपुर महानगरपालिकालाई पत्राचार गरेको छ ।

रंगशालाका निर्माणका लागि आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न फाउन्डेसन तयार भएको हो ।

महानगर र फाउन्डेसनको संयुक्त पहलमा निर्माण भइरहेको रंगशाला आर्थिक समस्याका कारण विगत पाँच महिनादेखि अवरुद्ध बनेको छ ।

आर्थिक व्यवस्थापनबारे महानगर र सरकारसँग फाउन्डेसनले निरन्तर ताकेता गर्दै आएको थियो । तर, लामो समयसम्म यसमा कुनै निर्णय नभएपछि फाउन्डेसनले सम्झौता अनुसार प्रक्रियागतरुपमा पत्र लेखेको हो । महानगरसँगै युवा तथा खेलकुद मन्त्रालयलाई पनि पत्राचार गरिएको छ ।

फाउन्डेसनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, ‘फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रंगशाला निर्माण कार्य कठिनाई भएको छ ।’

सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने गरी सम्झौता गरिएको थियो ।

फाउन्डेसनका प्रमुख सिताराम कट्टेल धुर्मुसले रंगशाला लामो समय अलपत्र भएकाले प्रक्रियागतरुपमा सरकारलाई पत्र पठाइएको बताए । निर्माणको मोडालिटीबारे अझै पनि आफूहरु छलफलमै रहेको उनले जानकारी दिएका छन् ।

‘आपसी समन्वयमा कसरी रंगशाला निर्माणलाई सुचारु गर्न सकिन्छ भन्ने हाम्रो चिन्ता हो,’ उनले भने, ‘सरकारले जे निर्णय गर्छ, त्यसअनुसार अगाडि बढ्न हामी तयार छौं ।’

रंगशाला निर्माणका क्रममा फाउन्डेसनलाई १७ करोड ऋण लागेको छ । यो ऋणको जिम्मेवारी सरकारले लिएर रंगशालाको बाँकी आर्थिक व्यवस्थापन सरकारले गरिदिएमा निर्माणको संयोजन गर्न फाउन्डेसन अझै तयार छ ।

महानगरकी मेयर रेणु दाहालले महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिइन् । यस सम्बन्धमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग परामर्श गरी काम अघि बढाइएको उनको भनाइ छ ।

दाहालका अनुसार फाउण्डेशनले महानगरमा पेश गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएर तिर्नुपर्ने भुक्तानीका लागि प्रक्रिया अघि बढाइँदै छ । बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले संघीय सरकारलाई अनुरोध गरेको दाहालले बताइन् ।

उनले भनिन्, ‘मन्त्रिपरिषद्ले जे निर्णय गर्छ सोही अनुसार काम गर्न हामी तयार छौं ।’ भरतपुर महानगरपालिकाको महत्वपूर्ण आयोजना भएकाले यसलाई निरन्तरता दिएर सम्पन्न गर्न आफू लागि परेको दाहालको भनाइ छ ।

महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रङ्गशालाका लागि उपलब्ध गराएको हो । दाहालले थपिन्, ‘रङगशाला सम्पन्न हुन्छ ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले कार्यपालिकाको बैठकले निर्णय गरी फाउण्डेशनले पेश गरेको विवरणको आर्थिक र प्राविधिक पक्षको अध्ययनका लागि सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरमा पठाइएको बताए ।

यसैगरी नेपाल चार्टर एकाउन्टेन्ट संंस्थामा आर्थिक अध्ययनका लागि पठाइँदै छ । दुवै निकायबाट जाँचबुझपछि खेलकूद मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पठाउने तयारी गरिएको हो । सुवेदीले नेपाल सरकारको नीतिनियम अनुसार आवश्यक प्रक्रिया पु¥याएर रङ्गशाला निर्माणको कामलाई पूर्णता दिने बताए ।

रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनले दाबी गरेको छ । रंशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको यसअघि नै फाउन्डेशनले जनाएको थियो । रंगशाला सम्पन्न गर्न तीन अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर