माओवादीको वागमती प्रदेश पदाधिकारी छान्न निर्वाचन, मतदता नामावली प्रकाशित (सूचीसहित)


काठमाडौं । नेकपा (माओवादी) केन्द्रको वागमती प्रदेश समितिका सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार काठमाडौंको अनुपम फुडल्याण्डमा आयोजित कार्यक्रममा उनीहरुले सपथ लिएका हुन् ।
लगै पदाधिकारी छान्न निर्वाचन प्रक्रिया समेत शुरु भएको छ । गत मंसिर २५ मा उद्घाटन भएको सम्मेलनबाट २७५ सदस्यीय प्रदेश समिति चयन भए पनि नेतृत्वमा सहमति जुट्न नसक्दा चुनाव हुने भएको हो ।
मुख्यगरि अध्यक्षमा सहमति हुन नसक्दा निर्वाचनबाटै पदाधिकारीको चयन गर्ने तयारी भइरहेको छ । प्रदेश निर्वाचन समितिले त्यसका लागि मतदताको नामावली सार्वजनिक गर्दैै सच्याउनका लागि ३० मिनेटको समय दिएको छ ।
माओवादीको अन्तरिम विधानमा सम्मेलन प्रतिनिधिले समिति चयन गर्ने र समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ। त्यसै अनुसार प्रदेश समितिका २७५ सदस्यले पदाधिकारी चयन गर्नेछन् ।
वागमती प्रदेश अध्यक्षका लागि सुरुमा धेरै दावेदार भए पनि अहिले दुई जना रहेका छन् । सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल र काभ्रेका दिनानाथ गौतम अन्तिम समयसम्म पनि पछि नहटेपछि चुनाव हुने भएको हो ।
सरल सहयात्री पनि माओवादीका स्थापित युवा नेता हुन् । जनयुद्धकालमा ब्रिगेड कमाण्डर रहेका उनी सेना समायोजनपछि पार्टी राजनीतिमा स्थापित भएका हुन् ।
त्यस्तै अध्यक्षका अर्का दाबेदार दिनानाथ गौतम जनयुद्धकालका पूराना नेता हुन् । गौतम हाल काभ्रेको चौँरी देउराली गाउँपालिकाका अध्यक्ष छन् ।