सदनमा एमालेको अवरोध कायमै, राष्ट्रियसभा बैठक आज पनि स्थगित – Nepal Press

सदनमा एमालेको अवरोध कायमै, राष्ट्रियसभा बैठक आज पनि स्थगित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।

बैठकको सुरुवात हुनेवित्तिकै एमालेका सांसदहरुले उठेर अवरुद्ध पारेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरिएको घोषणा गरे ।

संसद अवरुद्ध पार्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको माग सम्बोधन नगरी संसद बैठक चल्न नसक्ने पार्टीको अडान राखेका थिए । उनले सरकारले प्रमुख प्रतिपक्ष दल एमालेको माग सम्बोधन गर्न वार्तासमेत गर्न नचाहेको भन्दै आपत्ति जनाए ।

सांसद दाहालले आफ्ना पार्टीले कारबाही गरेका सांसदहरुलाई संसदमै राखेर आफूहरुले सदन चल्न दिन नसक्ने पनि दोहो¥याए ।

यता, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भने देशलाई अगाडि बढाउन सहज हुने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुलाई सदन संचालनका लागि सहज बनाई दिन पटक पटक आग्रह गरेका थिए ।

उनले महत्वपूर्ण विधेयकहरु अगाडि बढाउन, देशको विकासको बारेमा, समग्र अर्थतन्त्रको बारेमा आफ्ना विचारहरु राख्न पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन सुचारु गराउन सहयोग गर्नुपर्ने तर्क समेत गरे ।

तर अध्यक्ष तिमिल्सिनाको भनाईलाई बेवास्ता गर्दै एमालेका सांसदहरुले बैठक अवरुद्ध पारिरहेपछि राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरु पेश गर्ने आजको कार्यसूचि हटाईएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर