कांग्रेस महाधिवेशनः लुम्बिनीका वेटिङ मुख्यमन्त्री पार्टीभित्रै पराजित* – Nepal Press

कांग्रेस महाधिवेशनः लुम्बिनीका वेटिङ मुख्यमन्त्री पार्टीभित्रै पराजित*

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लुम्बिनी प्रदेशका वेटिङ मुख्यमन्त्री वीरेन्द्रप्रसाद कनौडिया केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका कनौडिया कांग्रेसको खुला केन्द्रीय सदस्यमा पराजित भएका हुन् । उनले १५१९ मत प्राप्त गरे ।

साउन अन्तिममा लुम्बिनी प्रदेशमा एमालेविरुद्धको गठबन्धन दलको भागवण्डामा ८ महिनापछि मुख्यमन्त्री बन्ने सहमतिमा परेका कनौडिया पनि देउवा समूहबाट उम्मेदवार थिए ।

संस्थापन समूहका धेरै नेताहरु निर्वाचित हुँदा पनि कनौडिया पराजित भएका हुन् । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा संस्थापन समूहभन्दा इतर समूहका धेरै जना निर्वाचित भएका छन् ।

लामो समय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव रहेका रूपन्देहीका गोकर्ण पौडेल पनि केन्द्रीय सदस्यमा हारेका छन् ।

पाल्पाका हरि नेपाल पनि कांग्रेसको केन्द्रीय सदस्य पदमा दोहोरिन सकेनन् । गुल्मीका पूर्वसांसद त्रैलोक्यप्रताप सेनले १३ औं र १४ दुवै महाधिवेशनमा निर्वाचन जित्न सकेनन् ।

२०५६ सालयता निरन्तर केन्द्रीय सदस्य रहेका रूपन्देही गृहजिल्ला भएका गृहमन्त्री बालकृष्ण खाँण भने खुला केन्द्रीय सदस्यतर्फ तेस्रो बढी मतसहित विजयी भए ।

त्यस्तै सहमहामन्त्रीमा पहिले नै उम्मेदारी घोषणा गरेका संस्थापनइतर समूहका दाङका दीपक गिरी आफ्नो प्यानलबाट पदाधिकारीमा नपरेपछि कांग्रेसको केन्द्रीय सदस्यमा दोहोरिएका छन् ।

बर्दियामा वामदेव गौतमलाई हराएर चर्चामा आएका सञ्जयकुमार गौतम, योजना आयोगका पूर्वउपाध्यक्ष प्युठानका डा. गोविन्दराज पोखरेल पहिलोपटक केन्द्रीय सदस्य बनेका छन् । उनीहरु दुवै इतर समूहका हुन् ।

लुम्बिनी प्रदेशअन्तर्गतकै दाङ जिल्लाका कृष्णकिशोर घिमिरे पनि १७०७ मतका साथ ३५औं नम्बरमा रहेर कांग्रेस केन्द्रीय सदस्य बन्न सफल भएका छन् । उनी देउवाको प्यानलमा थिए ।

कांग्रेस पदाधिकारीमा संस्थापन समूहबाट बर्दियाका किशोरसिंह राठौर सहमहामन्त्रीमा विजयी भएका छन् । पदाधिकारीमा लुम्बिनीबाट जाने उनी मात्रै परेका छन् ।

उपसभापतिमा इतर समूहबाट गुल्मीका चन्द्र भण्डारी तथा सहमहामन्त्रीमा संस्थापन समूहबाट अर्घाखाँचीका मानबहादुर विक उम्मेदार भए पनि विजयी हुन सकेनन् ।

* यसअघि पूर्वमन्त्री सुरेन्द्र हमालको नाम र तस्बिर हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर