यामलाल कँडेलकाे आरोप- समाजवादी र माओवादी पार्टी कांग्रेस जिताउने अभियानमा छन् – Nepal Press

यामलाल कँडेलकाे आरोप- समाजवादी र माओवादी पार्टी कांग्रेस जिताउने अभियानमा छन्

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज यामलाल कंडेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी नेपाली कांग्रेस जिताउने अभियानमा लागेको आरोप लगाएका छन् ।

नेकपा एमाले प्रथम कर्णाली प्रदेश कमिटीको वैठकलाई सम्वोधन गर्दै नेता कँडेलले कम्युनिष्टका नाममा माओवादी र समाजवादीले पसल मात्रै थापेको बताए । ‘ती दुवै दल एमाले हराउन र कांग्रेसलाई जिताउन खोलिएका पार्टी हुन् । यस्ता प्रवृत्तिलाई निमिट्यान्न पार्न आजैदेखि गाउँ बस्तीमा अभियान चलाउनुहोस् । नेकपा एमालेलाई जनअनुमोदित पहिलो पार्टीको रुपमा स्थापित गर्न लाग्नुहोस्,’ सम्मेलनलाई सम्बोधन गर्दै कँडेलले भने ।

इन्चार्ज कंडेलले प्रदेश र जिल्ला सम्मेलनलाई सौहाद्रपूर्ण, भव्यताका साथ सम्पन्न गर्न समेत निर्देशन दिए । सबै स्थानमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि लागि पर्ने उनको आग्रह थियो ।

यसैबीच, आइतबार बसेको पहिलो वैठकले पुस २९ गते २४ निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन गर्ने निर्णय गरेको अध्यक्ष विनोद कुमार शाहले बताए । उनका अनुसार अध्यक्ष शाहकै नेतृत्वमा प्रदेश सम्मेलन मुल व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिले विभिन्न उपसमिति गठन गर्ने भएको छ ।

एमालेका करिब सात सय जना प्रतिनिधिको सहभागितामा प्रथम प्रदेश अधिवेशन सम्पन्न हुने अध्यक्ष शाहले बताए । शाहले भने, ‘हामीले विभिन्न आठ निर्णय गरेका छौं । मुख्य गरी जिल्ला र प्रदेश सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्ने गरी अघि बढेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर