यी हुन् कांग्रेस केन्द्रीय समितिमा पहिलोपटक पुगेका १६ नयाँ अनुहार – Nepal Press

यी हुन् कांग्रेस केन्द्रीय समितिमा पहिलोपटक पुगेका १६ नयाँ अनुहार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट अधिकांश नयाँ अनुहारले केन्द्रीय समितिमा अवसर पाएका छन् ।

खुल्लातर्फको ३५ जना केन्द्रीय सदस्यमध्ये १६ जना पहिलो पटक केन्द्रीय समितिमा पुगेका छन् । अन्य क्लष्टरबाट पनि पहिलोपटक केन्द्रीय सदस्य बन्नेहरुको संख्या उल्लेख्य रहेको छ ।

कांग्रेसको विधान अनुसार खुल्लातर्फ ३५ जना निर्वाचित हुने प्रावधान छ । ३५ जनाका लागि ९९ जना प्रतिस्पर्धामा थिए । जसमध्ये १६ जनाले पहिलोपटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश पाएका छन् । कांग्रेस केन्द्रीय समितिमा पहिलोपटक प्रवेश पाएका नेताहरु यसप्रकार छन्-

उदयशमशेर राणा- नेपाल तरुण दलको पूर्व अध्यक्षसमेत रहेका उदयशमशेर राणा खुल्ला तर्फ चौथौ सर्वाधिक मत ल्याउँदै पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरे । दोस्रो संविधानसभा सदस्य रहेका राणा पूर्व अर्थ राज्यमन्त्रीसमेत हुन् ।

१३ औं महाधिवेशमा २५ जना निर्वाचित हुनेमा २७ औं नम्बरमा रहेर पराजित भएका राणा यसपटक भने लोकप्रिय मत हासिल गर्न सफल भएका हुन् । उनी चौथो स्थानमा रहेर विजयी भए ।

रामहरी खतिवडा- युवा नेता रामहरी खतिवडा यसपटक ‘टप टेन’ मा रहँदै खुल्लातर्फको कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

अघिल्लो महाधिवेशनमा खुल्लातर्फबाट केन्द्रीय सदस्य बन्न असफल भएका खतिवडा यसपटक भने पाँचौ स्थानमा रहन सफल भए ।

ओखलढुंगाबाट २०७० को संविधानसभामा निर्वाचित भएका खतिवडा संसदभित्र प्रभावकारी भूमिका निर्वाह गर्ने कांग्रेस सांसदभित्र पर्छन् । उनी पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

जितजंग बस्नेत- नेपाल तरुण दलको अध्यक्ष रहेका जितजंग बस्नेत पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित बस्नेत नेपाल विद्यार्थी संघको पूर्व महामन्त्रीसमेत हुन् । उनी खुलातर्फ ११ औं स्थानमा रहे ।

नैनसिंह महर- नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष नैनसिंह महरपनि पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । डडेल्धुराका महर खुल्लातर्फबाट १५ औं नम्बरमा रहन सफल भए । महरले १४ औं महाधिवेशनका १४ एजेण्डा सार्वजनिक गर्दै उम्मेदवारी प्रस्तुत गरेका थिए ।

कुन्दनराज काफ्ले- विद्यार्थी राजनीतिबाट चर्चा कमाएका कुन्दनराज काफ्ले नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री हुन् । काफ्ले १३ औं महाधिवेशनमा दोलखा कांग्रेसको सभापति बन्न असफल भएका थिए । यसपटक खुल्ला तर्फको केन्द्रीय सदस्यमा २० औं स्थानमा रहँदै पहिलो पटक केन्द्रीय समितिमा पुग्न काफ्ले सफल भएका छन् ।

गुरु बराल- नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष गुरु बराल पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले खुलातर्फ २५ औं स्थान सुरक्षित गरे । २०७४ सालको प्रदेशसभा निर्वाचनमा कास्कीमा कांग्रेस तर्फबाट बराल प्रत्यक्ष उम्मेदवार रहेका थिए ।

सञ्जयकुमार गौतम- नेपाली कांग्रेस बर्दियाको पूर्व सभापति समेत रहेका सञ्जयकुमार गौतम पूर्व सिचाइँमन्त्री हुन् । उनी पहिलोपटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छन् । २०७४ सालको आम निर्वाचनमा बर्दियाबाट वामगठबन्धनका उम्मेदवार वामदेव गौतमलाई पराजित गरेपछि गौतम चर्चामा आएका थिए ।

डा.गोविन्दराज पोखरेल- योजना आयोगको पूर्व उपाध्यक्ष तथा पुनर्निर्माण प्राधिकरणको पूर्व प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलपनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

१३ औं महाधिवेशनमा शीर्ष २५ मा पर्न असफल पोखरेल यसपटक २७ औं स्थानमा रहँदै पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

राजीव ढुंगाना- नेपाल विद्यार्थी संघको अध्यक्ष समेत रहेका ढुंगाना पहिलो पटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । विगतका महाधिवेशनहरुमा बहालवाला नेविसंघ अध्यक्ष केन्द्रीय सदस्यमा पराजित हुने परम्परापनि ढुंगानाले तोड्न सफल भएका छन् ।

दिनेश कोइराला- गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको टिकट पाएर पनि खोसिएपछि दिनेश कोइराला चर्चामा आएका थिए । उनको टिकट खोसेर कांग्रेसले माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको थियो ।

खुल्ला तर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका कोइरालाले केन्द्रीय समितिमा चितवनको रिक्तता पूर्ति गरेका छन् । हालसम्म चितवबाट केन्द्रीय समितिमा कसैको प्रतिनिधित्व हुन सकेको थिएन ।

मदनबहादुर अमात्य- लामो समय ललितपुर कांग्रेसको जिल्ला सभापति रहेका मदनबहादुर अमात्यपनि पहिलोपटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छन् । २०७० मा संविधानसभा सदस्य रहेका अमात्य खुल्ला केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

अजयबाबु शिवाकोटी- सक्रिय पत्रकारिता छोडेको केही समयमै अजयबाबु शिवाकोटी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाल प्रेस युनियनको महासचिवसमेत रहेका शिवाकोटी हाम्राकुरा डटकमको पूर्व प्रधानसम्पादक हुन् ।

उनले कृष्णबहादुर महरा र गोकुल बाँस्कोटा प्रकरणमा गरेको रिपोर्टिङका कारण चर्चा पाएका थिए । खुल्लातर्फको जितसँगै उनी पहिलो पटक कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छ्न ।

उमेशजंग रायामाझी- नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका उमेशजंग रायामाझी गत संसदीय निर्वाचनमा भोजपुरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका थिए ।

नेविसंघको पूर्व महामन्त्रीसमेत रहेका रायामाझी खुल्लातर्फबाट केन्द्रीय सदस्यमा विजयी हुँदै पहिलोपटक कांग्रेस केन्द्रीयसमितिमा प्रवेश गर्न सफल भएका हुन् ।

गणेश लामा- विवादित पृष्ठभूमीका गणेश लामा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम हुँदै कांग्रेसमा स्थापित भएका हुन् ।

काभ्रेबाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका लामालाई गच्छदारले समायोजनका क्रममा केन्द्रीय सदस्य बनाएका थिएनन् । यसपटक खुल्लातर्फ निर्वाचित हुँदै लामाले कांग्रेस केन्द्रीय सदस्यमा पहिलोपटक प्रवेश पाएका छन् ।

मोहन आचार्य- रसुवाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित मोहन आचार्य पेशाले इञ्जिनियर तथा निर्माण व्यवसायी हुन् । सक्रिय राजनीतिमा आएको छोटो समयमै उनी कांग्रेस केन्द्रीय सदस्य बन्न सफल भएका छन् ।

खुल्लातर्फको केन्द्रीय सदस्यमा निर्वाचित आचार्य पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेका हुन् ।

कृष्णकिशोर घिमिरे- दाङको राजनीतिमा महत्वपूर्ण भूमिका भएका कृष्णकिशोर घिमिरेलाई सभापति शेरबहादुर देउवाले आमन्त्रित केन्द्रीय सदस्य बनाएका थिए ।

खुल्ला तर्फ निर्वाचन जितेपछि भने पूर्व सांसद घिमिरे पहिलो पटक निर्वाचित केन्द्रीय सदस्यका रुपमा कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छन् । उनी दाङका पुराना नेता हुन् । उनी ३५ औं नम्बरमा रहे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर