कैलालीमा दुर्दान्त अपराध, अडिओमा अडियो प्रहरी – Nepal Press

कैलालीमा दुर्दान्त अपराध, अडिओमा अडियो प्रहरी

कैलाली । शुक्रबार साँझ करिब ७ बजे घरबाट निस्किएका जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको शव नजिकैको अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा उनको भेटियो ।

शनिबार दिउँसो करिब ३ बजे उनको हत्या भएको आफन्तहरूले जानकारी पाएका थिए । घटनास्थलमा करिब ४ बजे प्रहरीको टोली आइपुग्यो ।

‘रुखमा बाँधेर नग्न बनाउँदै घाँटी रेटेर हत्या गरेको देखियो’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने, ‘लगाएका लुगा खोलेर त्यही लुगाले रुखमा बाँधेर विभत्स ढंग घाटी रेटेर हत्या गरेको देखिएको छ ।’

घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ‘हामी अनुसन्धान गरिरहेका छौँ केही आधारहरू भेटिएको छ,’  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘केही समयमै हामीले घटनाको तथ्यसहित दोषी पक्राउ गर्छौं ।’

स्थानीयका अनुसार मृतक दासका बुबा, आमा र दाइ भारतमा रोजगारीको लागि बस्दै आएका छन् । उनी पनि भारत आउने जाने गर्दै आएका थिए । करिब ३ हप्ता अगाडि उनी भारतबाट फर्किएका थिए । यहाँ उनका श्रीमती, छोरी र भाउजूसहित बस्दै आएका थिए ।

शंकास्पद अडिओ भेटियो

दासको विभत्स हत्या गरिएको भोलिपल्ट प्रहरीले घटनासँग सम्बन्धित व्यक्ति हुन सक्ने एउटा टेलिफोन संवादको अडिओ फेला पारेको छ । नेपाल प्रेसलाई समेत प्राप्त उक्त अडिओ संदिघ्ध अपराधीले कसैको टाउको र शरीर अलग गरिदिएको बताएका छन् ।

टेलिफोन सम्वादमा ‘मनोज’ भनिएका व्यक्तिले बोलेका छन्, ‘मैले त्यो मान्छेलाई उडाइदिएको छु । एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ । घाँटी अलग छ र शरीर अलग छ ।’

संवादमा अर्को पक्षले सोध्छन्, ‘को मान्छे ?’

उताबाट जवाफ आउँछ, ‘जसको भए पनि यति कुरा बुझ । म कहाँ पुगिसकेँ, कहाँ पुगिसकेँ ।’

संदिग्ध व्यक्तिले आफू भारतमा रहेको बताएका छन् ।

‘म बैंगलोरका लागि हिँडिसकेँ । रुपैडियामा छौं दाइ हामी ।’ उनले भनेका छन् ।

यस अडिओमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतककी पत्नीको मोबाइलबाट अडिओ बरामद भएको हो । उनलाई कसैले मोबाइलमा पठाइदिएको हुन सक्ने अनुमान छ । फोनमा कुरा गर्ने व्यक्तिको आवाज सुन्दा लागूऔषध सेवन गरेका हुन् कि भन्ने आशंका रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

एकपछि अर्को हत्या

कैलालीमा गत महिनाको २३ गते भूपेन्द्र बडूवालको हत्या भएको थियो । प्रहरीले उक्त घटनामा २१ जना संलग्न रहेको बताइरहेको छ । ती मध्ये १२ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । ९ जनालाई पुर्पक्षका लागि जिल्ला अदालत कैलालीले कारागार चलान गरिसकेको छ भने ३ जना धरौटीमा रिहा भइसकेका छन् ।

९ जना अझै पनि फरार छन् । भूपेन्द्र हत्या प्रकरणमा सुल्झिन नपाउँदै त्यही क्षेत्रनजिक फेरि अर्को घटना भएपछि कैलालीमा सुरक्षा चुनौती बढेको सर्वसाधारण बताउँछन् ।

भूपेन्द्र बडूवाल हत्याभन्दा पहिले पनि कैलालीमा अन्य युवाहरूको पनि हत्या भएको पाइएको छ ।

टीकापुर नगरपालिका–८ कालीमाटीमा कात्तिक १२ गते स्थानीय १८ वर्षीय अनुप साउदको चक्कु प्रहार गरेर हत्या भएको थियो ।
आपसी विवादका क्रममा भजनी नगरपालिका–३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको प्रहरीले पुष्टि गरेको थियो ।

चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएको थियो ।

त्यसअघि जिल्लाको लम्कीचुहा नगरपालिका-२ मोतीपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका-४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई आफूसँगै बस्ने साथीले हत्या गरेका थिए । सोही नगरपालिकाको वीरेन्द्र सामुदायिक वनमा लुकीछिपी बसेको अवस्थामा आरोपी पक्राउ परेका थिए । आपसमा विवाद हुँदा फलामको कर्नीले टाउकोमा हिर्काएर बस्नेतको हत्या गरेको पाइएको हो ।

कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय बालक विवेक विष्टको पनि हत्या भएको पुष्टि भएको थियो ।
बालकको हत्या आरोपमा कैलाली प्रहरीले बालककै दिदी नाता पर्ने १५ वर्षीय किशोरी र किशोरीकी १४ वर्षीय साथीलाई प्रहरीले पक्राउ गरेको थियो ।

दिदी नाता पर्ने किशोरीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी थिइन । प्रहरीले २४ असार उनीहरुहलाई सार्वजनिक गरेको थियो ।

धनगढी ७ का रमेश चौधरीको पनि असोज २९ गते घाटी थिचेर हत्या भएको थियो । प्रहरीले हत्याको करण उनको श्रीमती रहेको भन्दै पक्राउ गरेको थियो ।

कैलालीको गोदावरी नगरपालिका–५ गेटामा फागुन १५ गते मृत फेला परेका ३६ वर्षीय शिवचरण रानाको पनि हत्या भएको थियो । ३७ वर्षीय जयन्ती चौधरीको योजनामा रानाको हत्या गरिएको खुलेको थियो ।

किन बढिरहेको छ जघन्य अपराध ?

पछिल्लो समय कैलालीमा तीब्ररूपमा जघन्य अपराध बढिरहेको छ । यसपछि अर्को हत्या श्रृंखलाले पनि जघन्य अपराध बढिरहेको पुष्टि हुन्छ ।

ठूला आपराधिक घटनामा संलग्नहरू पक्राउ नपरेपछि हिंसात्मक घटना बढिरहेको जानकारहरू बताउँछन् ।

‘ठुला अपराधमा संलग्नहरू केही अझै पक्राउ पर्न सकेका छैनन्’ आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी भन्छिन्, ‘केही घटनामा दोषी पक्राउ नपरेपछि अन्य घटनामा पनि बढिरहेका छन् ।’

पछिल्लो समय कैलालीमा बढिरहेको अपरधिक क्रियाकलापबारे प्रदेश सरकार पनि गम्भीर रहेको उनको भनाइ छ ।
‘हामी निकै गम्भीर छौँ’ प्रदेश सरकारको प्रवक्ता समेत रहेकी कानून मन्त्री जोशीले भनिन्, ‘यस अघि पनि मैले सुरक्षा निकायमा प्रमुखहरूलाई शान्ति सुरक्षा मजबुद बनाउन भनेको थिए । फेरि यस विषयमा उहाँहरूलाई अझै गम्भीर बन्न भन्छु । ’

कैलाली पछिल्लो समय लागुऔषध प्रयोगकर्ताहरूको अखडा बन्दै आएको छ लागु औषध प्रयोगकर्ता बढेसँगै अपराधहरू पनि मन्त्री जोशी बताउँछिन् ।

त्यसबाहेक बदलिँदो सामाजिक परिस्थिति, बढ्दो सामाजिक सञ्जालको प्रयोग, आर्थिक अभावलगायतका कारण अपराध बढिरहेको प्रहरीको ठहर छ ।

‘यहाँ भइरहेको घटनाका दोषीहरू पनि पक्राउ परिरहेका छन’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव नायव उपरीक्षक वेदप्रकाश जोशी भन्छन्, ‘लागु औषधको कारण पनि यस्ता घटना बढिरहेको देखिन्छ ।’

कानून कार्यान्वयनको पक्ष फितलो बन्दा जघन्य अपराध बढिरहेको दलित महिला अधिकार मञ्च कि अध्यक्ष सावित्रा घिमिरेको बुझाइ छ ।

‘यहाँ कानून नभएको होइन । तर, कानून कार्यान्वयनको पक्ष निकै फितलो छ यही कुराले गर्दा समाजमा अपराध बढिरहेको छ’ उनले भनिन् ‘अपराध गर्दा कठोर सजाय हुन्छ भन्ने परेमा यस्ता घटनामा कमी आउन सक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर