ठुला होटलमा लगानी बढ्दो, दुई वर्षमा १० वटा तारे होटल थपिए – Nepal Press

ठुला होटलमा लगानी बढ्दो, दुई वर्षमा १० वटा तारे होटल थपिए

काठमाडौं । पछिल्लो समय होटल व्यवसायमा लगानीको क्रम बढ्दै गएको छ । पर्यटन विभागको तथ्याङक अनुसार यो दुई वर्षमा मात्र १० वटा ठुला होटल खुल्ने क्रममा रहेका छन् ।

कोरोना भाइरस (कोभिड १९) को महामारिले होटल व्यवसाय शून्य भएपनि नेपालमा होटलमा लगानी भने बढेको पाइएको हो ।

यसैवर्ष थप भएका होटल मध्ये पाँचतारे डिलक्समा झापाको मेची क्राउन, चार तारेमा होटलमा वाराही पोखरा, होटल सांग्रिला भिलेज पोखरा, होटल ल्याण्ड मार्क पोखरा र नान्स होटल सिदार्थनगर रुपन्देही रहेका छन् ।

अन्य नयाँखुलेका दुई तारे होटलमा होटल लोटसजेम्स गोकर्णेश्वर र होटल भादगाउँ भक्तपुर रहेका छन् । यस अघि पाँचतारे होटलमा मेरियट र अलफ्ट थप भएका थिए ।

होटलसँगै ३ वटा रिसोर्टमा समेत लगानी भएको छ । जसमा तीनतारे स्तरको साधारण रिसोर्ट ट्रायम्फ आर्गानिक रिसोर्ट धादिङ, चार तारे स्तरको (डिलक्स) आगन्तुक रिसोर्ट बनेपा र पाँच तारे स्तरको (लक्जरी) चन्द्रगिरी हिल्स रहेका छन् ।

कोभिडले पर्यटन व्यवसायमा नराम्रो असर पारेपनि होटल क्षेत्रमा लगानी भने झन् बढ्दै गएको पर्यटन विभाग होटल शाखाका निर्देशक मनबहादुर जिसीले बताए ।

सुविधा सम्पन्न होटलमा लगानी बड्नु भोलीका दिनमा पर्यटकका लागि उपयुक्त आधार समेत बन्ने उनको भनाई छ ।

हालसम्म नेपालमा एक सय ४२ वटा तारे होटल रहेका छन् । जसमा डिलक्स एक, पाँचतारे १५, चार तारे १७, तीनतारे ३३, दुई तारे ४२ वटा र एक तारे ३४ वटा छन् । अन्य साना होटलको मापदण्ड र अनुगमन संविधानत: सम्वन्धित प्रदेश सरकार मातहत रहेको छ ।

होटलसँगै रिसोर्ट समेत खुल्ने क्रम बढ्दो रहेको छ । हालसम्म एक सय दुई वटा तारे होटल स्तरका रिसोर्ट रहेको विभागको तथ्याङ्क छ । रिसोर्टलाई विभागले लक्जरी, डिलक्स र साधारण गरी तीन स्तरमा विभाजन गरी मापदण्ड तोक्ने गरेको छ ।

घनावस्तीबाट टाडा, हरियाली र खुल्ला क्षेत्र सहितको स्थानमा स्थापना हुने भएकाले पछिल्लो समय होटलमा भन्दा बढी रिसोर्टमा ग्राहकको आकर्षण बढ्दो रहेको पर्यटन व्यवसायी सुकुटे रिसोर्टका सञ्चालक महेन्द्र थापाले बताए ।

दर्ता बिना नै सञ्चालनमा रहेको द्वारिका होटलले पनि गत वर्ष देखि बुटिक होटलको दर्जामा दर्ता गरेको छ । विभागले डिलक्सका लागि एक लाख, पाँच तारेका लागि ७५ हजार, चार तारेका लागि ६० हजार, तीन तारेका लागि ४० हजार, दुई तारेका लागि ३० हजार र एक तारेका लागि २० हजार दर्ता शुल्कलिने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर