निर्मल निवासको हस्तक्षेपबारे पार्टीको निर्णय पर्खिरहेका छौं – राप्रपा नेता बर्तौला – Nepal Press

निर्मल निवासको हस्तक्षेपबारे पार्टीको निर्णय पर्खिरहेका छौं – राप्रपा नेता बर्तौला

हेटौंडा । महाधिवेशनको क्रममा ‘निर्मल निवास’को भूमिकालाई लिएर राप्रपा भित्र देखिएको विवाद बिस्तारै भुसको आगोको रुपमा बढ्दै गएको छ ।

आज जिल्ला कार्य समिति मकवानपुरद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै नव- निर्वाचित केन्द्रिय सदस्य राजाराम बर्तौलाले साझा संस्था र अभिभावकको रुपमा परिकल्पना गरेको संस्थाको भुमिका सर्वस्वीकार्य हुन नसकेको बताए ।

उनले भने, ‘हामी कांग्रेस, कम्युनिस्ट सबैलाई मान्य हुने संस्थाको कुरा गर्ने तर त्यो संस्थाले राप्रपा पार्टी भित्रै खेल्न खोज्नु दुर्भाग्यपूर्ण हो । हामीले यो विषयलाई गम्भिरता पूर्वक उठाएका छौ ।’

उनले यो विषयप्रति पार्टी कति गम्भिर छ र निर्णय कहिले दिन्छ भन्ने पर्खाइमा आफूहरु रहेको बताए । कुनै व्यक्तिको हारजितको विषय नभएको उल्लेख गर्दै उनले प्रजातान्त्रिक विधि पद्धतिअनुसार पार्टी भित्र छलफल बहस हुनुपर्ने बताए ।

आफुहरुले बोकेको मूल्य , मान्यता बिश्वास धर्मराउने बिषयलाई सामान्य रुपमा लिन नसकिने भन्दै एकथरी मान्छेहरुको हार पचाउन नसकेको भन्ने टिप्पणी षडयन्त्र ढाकछोप गर्ने जाली तर्क भएको उनको भनाई थियो ।

सिद्धान्त र बिचार प्रतिपादन गर्ने ब्यक्ती माथीको षड्यन्त्र र घेराबन्दीको सशक्त प्रतिबाद हुने समेत बर्तौलाले बताए । जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय निर्वाचन केन्द्रित भएर गतिविधि अघि बढाउने समेत निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर