भरतपुरले सार्वजनिक गर्‍यो ६ रात, ७ दिनको टुर प्याकेज – Nepal Press

भरतपुरले सार्वजनिक गर्‍यो ६ रात, ७ दिनको टुर प्याकेज

चितवन । भरतपुर महानगपालिकाले टुर प्याकेज सार्वजनिक गरेको छ । महानगरभित्रका ३० गन्तव्य समेटेर ६ रात र ७ दिनको टुर प्याकेज सार्वजनिक गरेको हो ।

नारायणी किनारमा मेयर रेणु दाहालसहितको टोलीले संयुक्तरुपमा टुर प्याकेज घोषणा गरेको हो ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरेर गत वर्ष २० गन्तव्य समेटेर ३ रात र ४ दिनको टुर प्याकेज घोषणा गरिएको थियो । यो पटक १० नयाँ गन्तव्य थपेर बसार्इ अवधि लम्बाइएको हो । मेयर रेणु दाहालले टुर प्याकेजले पर्यटकलाई घुमफिरको योजना बनाउन सहज हुने बताइन् ।

‘टुर प्याकेज कार्यान्वयन गर्न पर्यटन तथा होटल व्यवसायीसँग समन्वय गरिनेछ’, उनले भनिन्, ‘चाहेका बेला सहजै जिप सफारि गर्न पाइने व्यवस्था मिलाइनेछ ।’

महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीका अनुसार एकै दिनमा महानगरका ७ प्रमुख गन्तव्य भ्रमण गर्न सकिनेछ ।

मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वर व्लक, नारायणी नदि किनार र चौकिडाँडा मुख्य गन्तव्य छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वन क्षेत्र अन्तर्गत हात्ती सफारी, जिप सफारी, डुंगा सफारी गर्दै गोलाघाटमा सूर्यास्त अवलोकन, राइनोपार्क, अम्रेला स्ट्रीट, गोही प्रजनन केन्द्र, मिनि जु घुम्न एक रात दुई दिन वा दुई रात तीन दिन लाग्नेछ ।

धार्मिक तथा सांस्कृतिक सम्पदा अन्तर्गत देवघाटधाम, वागीश्वरी, गणेशधाम, शिवघाट, विक्रम बाबा, सितामाइ, आदिवासी जनजातिको संस्कृति अवलोकन गर्ने गरि एक रात एक दिनको टुर प्याकेज बनाइएको छ । मानव निर्मित आकर्षणका गन्तव्यहरुमा गौतमबुद्ध क्रिकेट रंगशाला, रानीपोखरी, बखान सहकारी, जिप फायर, टप ट्रि वाक, संग्रहालय लगायत घुम्न एक रात एक दिन छुट्टाइएको छ ।

लेकसाइड सर्किट तथा रिभर बेसिनका गन्तव्यहरुमा राइनो ताल, बीसहजारी ताल, बाटुली पोखरी, २८ हजार ताल, गैंडा सिमसार अवलोकन गर्न सकिनेछ । यस्तै दासढुंगा, जोरकुसुम, नगरवन, ज्ञानेश्वर व्लक, गाजीपुर, सिमरी टाउन, गोलाघाट, हरियाली राप्ती सामुदायिक वन, बेलहट्ठा सामुदायिक वन, राइनो कुञ्ज एक रात एक दिनको प्याकेज बनाइएको छ । यस्तै पहाडी क्षेत्रको भ्रमण गर्न एक रात एक दिनको प्याकेज बनाइएको छ ।

 

जुगेडी, चौकी डाँडा, कविलासपुरीगढी, ढोडेनी लगायतका क्षेत्रमा ट्रेकिङ तथा हाइकिङ, चौकी डाँडाको सूर्योदय, स्थानीय सांस्कृतिक कार्यक्रम तथा हिम शृङ्खला अवलोकन गर्न एक रात एक दिनको प्याकेज बनाईएको छ ।

यस्तै भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका त्रिकोणात्मक पर्यटन प्रर्वधन गर्न स्वर्ण त्रिकोण कार्यक्रम पनि घोषणा गरिएको छ । तीन स्थानीय तहले संयुक्त टुर प्याकेज बनाएर पर्यटकको बसाई लम्बाउने रणनीति बनाइएको छ । महानगरले गत वर्षनै लुम्बिनी र पोखराका पालिकासँग सम्झौता गरेर पर्यटकको चहलपहल बढाउने लक्ष्य लिएका थिए ।

भरतपुर महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरमा पर्यटन गतिविधि बढाइने बताइन् । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भरतपुर महानगरका ३० मुख्य गन्तव्य चिनाउन टुर प्याकेजले सघाउने बताए ।

गण्डकी प्रदेश पर्यटन बोर्डका प्रमुख काशिराज भण्डारीले स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन टुर प्याकेज फलदायी हुने बताए । पोखरा, लुम्बिनी र भरतपुर महानगरको स्वर्ण त्रिकोणको अवधारणालाई सफल पार्नुपर्नेमा जोड दिए ।

चितवन उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले भरतपुर महानगर मध्यनेपालकै सुन्दर नगर भएको बताए । उनले चितवन घुम्नमात्रै नभइ स्वास्थ्य, शिक्षा तथा व्यवसायका लागि चितवन जाउँ भन्ने अभियान चलाइनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

One thought on “भरतपुरले सार्वजनिक गर्‍यो ६ रात, ७ दिनको टुर प्याकेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर