माओवादी प्रदेश २ सम्मेलनको बन्दसत्र लालबन्दीमा सुरु हुँदै, तर अझै सुल्झिएन विवाद – Nepal Press

माओवादी प्रदेश २ सम्मेलनको बन्दसत्र लालबन्दीमा सुरु हुँदै, तर अझै सुल्झिएन विवाद

जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ को पहिलो सम्मेलनको बन्दसत्र आजबाट सर्लाहीको लालबन्दी पार्टी प्यालेसमा सुरु हुँदैछ ।

माओवादीले प्रदेश सम्मेलनको उद्घाटन जनकपुरमा मंसिर २५ गते नै गरेपनि धेरै पालिकामा विवादका कारण समयमा सम्मेलन नहुँदा बन्दसत्र हुन सकेको थिएन । आज बन्दसत्र सुरु हुन लागे पनि कतिपय पालिकाको विवाद समाधान नभएको बुझिएको छ ।

माओवादी प्रदेश ईन्चार्ज प्रह्लाद बुढाथोकीले विवादित पालिकालाई छाडेर बन्दसत्र सुरु हुने बताएका छन् । उनले नेपाल प्रेससंग भने, ‘विवादका कारण प्रतिनिधि चयन नभएको पालिकाको विवरणपछि उपलब्ध गराउँछौं ।’

माओवादी केन्द्रका गिरिराजमणि पोखरेल र मातृका यादवले नेतृत्व र प्रतिनिधिमा बर्चश्व जमाउन खोज्दा धेरै पालिकामा विवाद देखिएको छ । एक नेताकाअनुसार केही पालिकामा मातृका पक्षले एकलौटी रुपमा नेतृत्व र प्रतिनिधि चयन गरेका छन् । ती पालिकाका विभेदमा परेका नेताहरुले बन्दसत्रमा विरोध जनाउने सम्भावना छ ।

बन्दसत्रमा ७३५ प्रतिनिधि, ८४ जना मनोनित प्रतिनिधधि र २१ जना केन्द्रीय सदस्यसहितका १ सय ८ जनाको आयोजक समिति बन्दसत्रमा सहभागी हुने बताइएको छ । तर केही पालिकामा विवाद देखिएकाले प्रतिनिधि संख्या घट्ने अनुमान छ ।

सम्मेलनबाट ९ जना पादधकारीसहित २७१ जनाको प्रदेश समिति चयन हुनेछन् । उक्त समितिमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव, १ कोषाध्यक्ष र बाँकी सदस्य रहने प्रावधान छ ।

प्रदेश अध्यक्षका धेरै आकांक्षी रहे पनि प्रदेशका आन्तिरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह र पूर्वमन्त्री रामकुमार शर्माबीच प्रतिस्पर्धा हुने नेताहरु बताउँछन् । साहलाई मातृका यादव र शर्मालाई नारायणकाजी श्रेष्ठले अघि सारेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर