नेपालमा ‘स्पाइडरम्यान’ रेकर्ड : दुई दिनमै २२ हजार एड्भान्स टिकट बिक्री, रिलिजअघि नै ७६ लाख ग्रस कमाइ – Nepal Press

नेपालमा ‘स्पाइडरम्यान’ रेकर्ड : दुई दिनमै २२ हजार एड्भान्स टिकट बिक्री, रिलिजअघि नै ७६ लाख ग्रस कमाइ

काठमाडौं । रिलिज नहुँदै हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्सअफिसमा आक्रामक टिकट विक्री गरेको छ । बुधबार मध्यान्हसम्म क्यूएफएक्ससहित मुलुकका प्रमुख मल्टिप्लेक्समा शुक्रबार र शनिबारको लागि २१ हजार ९१५ वटा टिकट विक्री भैसकेको विवरण नेपाल प्रेसलाई प्राप्त भएको छ ।

थ्रीडी फिल्मको एउटा टिकटलाई ३५० रुपैयाँ मान्दा स्पाइडरम्यानले उक्त परिमाणको टिकट विक्री बराबर ७६ लाख ७० हजार २५० रुपैयाँ ग्रस कमाइ गरेको छ ।

कुनै फिल्मले नेपाली बक्सअफिसमा गरेको यो एड्भान्स-सेलको पहिलो कीर्तिमान हो । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले अहिलेसम्म एड्भान्स बुकिङ सुरु गरेको छैन । उसले आजदेखि मोफसलमा बुकिङ थाल्दैछ भने काठमाडौंमा भोलिदेखि सुरु हुने अपेक्षा छ ।

शुक्रबार र शनिबार क्यूएफएक्सका सिभिल, लबिम, छायाँ र भक्तपुरको भाटभटेनीमा सबै सोजका टिकट विक्री भैसकेका छन् । मंगलबार मध्यान्हसम्म ४ हजारभन्दा बढी टिकट विक्री भएका छन् ।

लबिममा १४ सय, छायाँमा १५ सय र भक्तपुरमा २ हजारभन्दा बढी टिकट विक्री भएका छन् । क्यूएफएक्सकै बिर्तामोडमा ४ सय टिकट, बिराटनगरमा २ सयभन्दा बढी, चितवनको जल्मामा ९ सय टिकट र दमौली एपेक्समा १५ टिकट विक्री भएका छन् ।

क्यूएफएक्समा एनालिटिक्स र सिस्टम विभाग हेर्ने प्रमुख आदर्श सिग्देलका अनुसार स्पाइडरम्यानको यो ट्रेन्ड अनुसार फिल्मको सुरुआती सातामा आक्रामक कमाइ हुनसक्छ । ‘धेरै दर्शक हलसम्म आउन सक्नुभएको छैन र उहाँहरु अझै लाइनमा हुनुहुन्छ’ सिग्देलले नेपाल प्रेसलाई भने, ‘स्पाइडरम्यानलाई महामारीयताकै ठूलो रिलिजको रुपमा लिन सकिन्छ ।’

क्यूएफएक्सबाहेक कमलपोखरीस्थित बिग मूभिजमा मात्र सुरुआती तीन दिनको लागि ४५ सय जति टिकट विक्री भैसकेका छन् । केएल टावर र वान सिनेमाजमा तीन–तीन हजार टिकट विक्री भएका छन् । वान सिनेमाज्का शुक्रबार पाँचैवटा सोज सोल्डआउट छन् ।

‘प्रतीक्षित फिल्म भएकाले पनि दर्शकको क्रेज थामिनसक्नु भएको हो’ वान सिनेमाज् प्रमुख प्रज्वल राणाले नेपाल प्रेसलाई भने, ‘एड्भान्स टिकट विक्री बाहेक पनि अन्य दर्शक पनि आउने तयारीमा रहेको हेर्दा पहिलो साता यसको ओपनिङ जबर्जस्त हुने अनुमान छ ।’

एप्पल इन्टरटेनमेन्टले नेपाल वितरण गरेको स्पाइडरम्यान : नो वे होम यसवर्षको प्रतीक्षित फिल्म हो । भारतीय फिल्म बजारमा समेत आक्रामक रुपमा टिकट विक्री भैरहेको छ । मुम्बइका हलहरुमा बिहान चार बजे पहिलो सोज राखिएको छ ।

के स्पाइडरम्यानले नेपालमा सर्वाधिक कमाउने एभेन्जर्स एन्डगेमको कीर्तिमानलाई तोड्ला ? एप्पल इन्टरटेनमेन्ट तथा क्यूएफएक्स प्रमुख नकिम उद्दिन भन्छन्, ‘एड्भान्स टिकट विक्री हेर्दा त्यो सम्भावना देखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर