सभापतिपछि चासो पदाधिकारीकोः क्रस प्यानल नतिजाको आशा – Nepal Press

सभापतिपछि चासो पदाधिकारीकोः क्रस प्यानल नतिजाको आशा

सर्वेक्षण भन्छः महामन्त्रीमा गगन र विश्वप्रकाशको सम्भावना

काठमाडौं । नेपाली कांग्रेसको सभापतिको छिनोफानो भएसँगै अब सबैको ध्यान पदाधिकारीतर्फ केन्द्रित भएको छ । कांग्रेसका १४ पदाधिकारी तथा १३४ केन्द्रीय सदस्यका लागि प्रतिनिधिहरुले दुई दिन अगाडि नै ट्यांकीमा भोट खसालिसकेको भए पनि गणना भने आज बेलुकीबाट सुरु हुँदैछ ।

सभापतिको पहिलो चरणको चुनाव र पदाधिकारीको चुनाव एकैसाथ भएको थियो । तर, पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि सभापति निर्वाचन दोस्रो चरणमा भयो । पदाधिकारीको मतगणनामा भने त्यस्तो झमेला हुनेछैन ।

कांग्रेसमा पदाधिकारीको दौड पनि उत्तिकै रोमाञ्चक देखिन्छ । देउवाले सभापतिमा सहज जित हात पारे पनि पदाधिकारी र केन्द्रीय सदस्यमा सिंगै उनको प्यानल निर्वाचित हुन सक्ने स्थिति छैन । शेरबहादुर देउवा र शेखर कोइरालाले सिंगै प्यानल खडा गरेर चुनाव लडेका थिए भने प्रकाशमान सिंह र विमलेन्द्र निधिले उपसभापति र महामन्त्रीमा मात्रै आफ्ना उम्मेदवार उठाएका थिए ।

कांग्रेसमा २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचनमार्फत छानिँदैछन् । यसमा मिश्रित नतिजा आउन सक्ने अनुमान गरिएको छ ।

उपसभापतिमा देउवाको प्यानलबाट विजय गच्छेदार र पूर्णबहादुर खड्का उम्मेदवार छन् । उनीहरु कांग्रेसका पुराना हस्तीहरु हुन् । कांग्रेस छोडेर मधेस केन्द्रित पार्टीमा लागेका गच्छदारले पुनरागमन गरेर मनोनित उपसभापति बनेका थिए । खड्का भने १३ औं महाधिवेशनपछि महामन्त्री मनोनित भएका थिए । उनी देउवाका पुराना विश्वासपात्र हुन् ।

यता, शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा खडा डा. चन्द्र भण्डारी र धनराज गुरुङ । उनीहरु दुवै पार्टीमा राम्रो छवि भएका नेता हुन् । अर्कोतर्फ कोइराला परिवारकी हस्ती सुजाता कोइरालाले पारिवारिक विद्रोह गर्दै प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा लडेकी छन् । उनी पनि बलियो दावेदार मानिन्छन् । यसप्रकार पार्टीका दुई उपसभापतिमा ५ नेताहरुको टकराव हुने देखिन्छ ।

महामन्त्रीको प्रतिस्पर्धा अझै रोचक छ । कांग्रेसका तीन प्रभावशाली युवा नेताहरु फरक–फरक गुटबाट महामन्त्रीमा भिड्दैछन् । संस्थापन समूहले कृष्ण सिटौलाको सिफारिसमा प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएको छ । यस्तै, विश्वप्रकाशले शर्माले संस्थापन समूहबाट टिकट नपाएपछि प्रकाशमानको समूह रोजे । अर्का लोकप्रिय युवा नेता गगन थापा शेखर कोइरालाको प्यानलबाट उठेका छन् ।

यस्तै, देउवा प्यानलबाट डा. प्रकाशशरण महत र शेखर प्यानलका डा. मिनेन्द्र रिजाल पनि उत्तिकै बलिया दावेदार हुन् । यसरी महामन्त्रीमा पनि पाँच जनाबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ ।

कांग्रेसको निर्वाचनलाई लिएर फ्याक्ट्स रिसर्च एन्ड एनालाइसीसले गरेको एक्जिट पोललाई विश्वास गर्ने हो भने महामन्त्रीको दौडमा गगन र विश्वप्रकाश अरुभन्दा अगाडि छन् । यही एक्जिट पोलले सभापतिमा गरेको प्रक्षेपण निकै हदसम्म सही सावित भएकाले पदाधिकारीको प्रक्षेपणलाई पनि नजरअन्दाज गर्न सकिन्न ।

सर्वेक्षणअनुसार महामन्त्रीमा गगन ४५ प्रतिशत मतका साथ पहिलो र विश्वप्रकाश २९ मतका साथ दोस्रो स्थानमा आउने छन् । प्रदीप, प्रकाशरण र मिनेन्द्र क्रमश तेस्रो, चौथो र पाचौं हुने प्रक्षेपण गरिएको छ ।

महाधिवेशनमा सहभागी २१४८ प्रतिनिधिहरुमाथि सो सर्वेक्षण गरिएको फ्याक्ट्स नेपालको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर