दिग्विजयी देउवा – दोस्रो चरणमा सहज जित, कांग्रेसको कसरी होला हित ? – Nepal Press

दिग्विजयी देउवा – दोस्रो चरणमा सहज जित, कांग्रेसको कसरी होला हित ?

काठमाडौं । देशको सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई निर्विकल्प नेता निर्वाचित गरेको छ । पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनेका देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित भएका छन् ।

कुल खसेकाे मतकाे ५० प्रतिशत मत कटाएपछि देउवा विजयी भएका हुन् । ३८१९ मत गणना गर्दा उनले २२८८ मत गरे भने, शेखर काेइरालाले १५०१ मत प्राप्त गरेका छन् । सबै मत गणना गर्नु अगाडी नै देउवा विजयी भएका हुन् । अहिलेसम्म  ३० बदर भएकाे छ ।

१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाट सभापति निर्वाचित भएका देउवा १४ औं महाधिवेशनमा चुनौति सामना गरिरहेको थिए । तर दोस्रो चरणमा प्रवेशसँगै सभापतिका तीन प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङको समर्थन पाएपछि उनको विजय सुनिश्चित भएको थियो ।

नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालापछि सर्वाधिक शक्तिसाली नेता बन्ने मौका देउवाले पाएका छन् । नेतृत्व परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका दोस्रो पुस्ताका नेताहरुले देउवासामु सरेन्डर गरेपछि उनको विजय पूर्व सुनिश्चित थियो ।

देउवा सभापतिमा निर्वाचित भएका छन् । तर शेखर कोइरालाको नेतृत्वमा कांग्रेसका ‘क्रिम लिडर’हरु पदाधिकारी र केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन् । देउवाले दोस्रो पटक कांग्रेस सभापति निर्वाचित हुँदै गर्दा कांग्रेसलाई भावनात्मक रुपमा एक गराउने चुनौति पनि सँगै वरण गरेका छन् । किनकी अब बैशाखदेखि मुलुकमा तीनै तहको निर्वाचन प्रारम्भ हुनेछ ।

कांग्रेसका यसपटक नेतृत्व परिवर्तनको जबर्जस्त एजेण्डा थियो । गगन थापा लगायतका नेताले थपिएका २० लाख नयाँ मतदातालाई आकर्षित गर्न नेतृत्व परिर्वतनको एजेण्डा उठाएका थिए ।

देउवाको सहज जितले उनको टिमलाई खुसी तुल्याए पनि कांग्रेसप्रति नयाँ मतदाताको आकर्षणका लागि भने कुनै योगदान नहुने टिप्पणी नेताहरुले नै गरिरहेका छन् ।

सभापतिको निर्वाचनपछि पदाधिकारी र अन्य सदस्यको मतगणना शुरु हुनेछ । तर सभापतिको निर्वाचन परिणामले कांग्रेसमा परिवर्तन चाहनेहरु भने निराश भएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुको रोजाइमा देउवा नै लोकप्रिय बनेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर