यूएस ओपन च्याम्पियन राडुकानुलाई कोरोना संक्रमण


काठमाडौं । यूएस ओपन च्याम्पियन इम्मा राडुकानुलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । कोभिड-१९ देखिएपछि यसै साता सुरू हुने मुबादाला विश्व टेनिस च्याम्पियनसिपबाट उनले नाम फिर्ता लिएकी छन् ।
उनी एन्डी मुरे, राफेल नाडाल लगायत पुरुष र महिलातर्फको खेलमा मुख्य खेलाडीहरूसँग एक्जिबिसन समारोहमा सहभागी हुन युएई गईसकेकी थिइन् ।
राडुकानु विहीबार अबुधावीमा ओलम्पिक च्याम्पियन बेलिन्डा बेनकिकको सामना गर्ने तय भएको थियो ।
‘म यहाँ अबुधावीमा फ्यान समक्ष खेल्न निकै उत्सुक थिएँ । दुर्भाग्यवस कोभिड पोजेटिभ आएपछि मैले अर्को मौका नआउन्जेल कुर्नुपर्नेछ,’ उनले भनिन्, ‘म नियमअनुसार नै आइसोलेसनमा बेसेकी छु । र, चाँडै नै कोर्टमा फर्किने आशा छ ।’
यसै वर्ष यूएस ओपन जितेकी राडुकानु छनोट खेलेर ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी हुन् ।