‘एकदुई दिनदेखिको बिरामी संख्या र स्थिती देख्दा हामी कोभिडको अर्को लहरको संघारमा उभिएको जस्तो देखिन्छ’ – Nepal Press

‘एकदुई दिनदेखिको बिरामी संख्या र स्थिती देख्दा हामी कोभिडको अर्को लहरको संघारमा उभिएको जस्तो देखिन्छ’

काठमाडौं । विगत १-२ दिनमा देखिन थालेका कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको सँघारमा उभिएका छौं जस्तो देखिन्छ।

ओमिक्रोन देखा नपर्दै पनि डेल्टा भेरियन्टले नै पनि हिउँदमा फेरि अर्को (अघिल्लो भन्दा सानो) उभार ल्याउने अपेक्षित थियो नै। त्यसको कारण थियो : मुख्यतः उच्च जोखिम समूहका व्यक्तिमा पहिले कोभिड संक्रमण भएर वा खोप लगाएर बनेको रोग(प्रतिरोधी क्षमतामा केही महिनापछि ह्रास आउने देखिएकाले।

ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन चाँडो आउने र डेल्टा मात्रको लहर भन्दा ठुलो हुने पनि सुनिश्चित् जस्तै भएको छ।

खालि त्यो ओमिक्रोनको लहर अघिल्लो (दोस्रो) लहरजस्तै ठूलो वा उस्तै हताहती गराउने हुन्छ कि केही सानो, कम क्षति गराउने हुन्छ भन्ने मात्र अहिल्यै अनुमान गरिहाल्न सकिंदैन।

विगत केही दिनमा विशेष गरी सभा-सम्मेलन, बिहे, भोजमा संक्रमित भएर हप्तादिन जति पछि अस्पताल जाने, भर्ना हुने क्रम बढ्न थालेको देखिन्छ। यो डेल्टाकै पहिलेदेखिकै अपेक्षित हिउँदे उभार हो कि यसमा केही मात्रामा ओमिक्रोनको पनि देन छ, सरकारको जिनोम सिक्वेन्सिङ अध्ययनले मात्र त्यो बताउला।

तर मूल कुरो, सबै फेरि एकदम सतर्क हुनुपर्ने भयो है। बिहेबारी, भोजभतेर, सभा-सम्मेलनबाट सकेसम्म टाढै बस्नुहोला।

घरबाहिर निस्केको बेलामा घरका सबै सदस्यले सकेसम्म एन-९५ वा सो सरहको मास्क हरबखत लगाउनुहोला। आफूले स्कुल पठाएका केटाकेटीहरूलाई पनि त्यसो गर्न सिकाउनुहोला।

मास्क लगाउँदा, मास्कको छेउ वा तलमाथिबाट हावा ननिस्कने गरी अनुहारमा टपक्क मिल्ने मास्क मात्र लगाउनुपर्छ। त्यस्तो मास्क नभेटिएमा बरू टपक्क मिल्छ भने एन(९५ मास्क र सर्जिकल मास्क, वा सर्जिकल र कपडाको मास्क, आदि २ थरी मास्क एकैचोटी लगाउने गर्नुपर्छ। मास्कको दुई छेउमा गाँठो र मुजा पारेर लगाउँदा पनि मास्कलाई तपाईंको अनुहारमा उपयुक्त तरिकाले टपक्क बस्ने बनाउन सकिन्छ।

वातायन (भेन्टिलेशन) राम्रो नभएको बन्द कोठा वा ठाउँमा अरू व्यक्तिसँग मास्क लगाएरै पनि सकेसम्म नबस्नुहोला। सकेसम्म भेटघाट, र विशेष गरी अरु व्यक्तिसँग खानपान, बाहिर खुला ठाउँमा मात्रै गर्नुहोला।

परिवारको कसैलाई सामान्य रुघा वा खोकि वा हल्का ज्वरो मात्र वा जुनसुकै कोरोनासँग मिल्न सक्ने लक्षण छ भने पनि तुरुन्त पिसिआर जाँच गराउनुहोला। अनि रिपोर्ट नआउन्जेल घरका अरु कोही पनि सदस्य कार्यालय, स्कुल वा बाहिर कतै नजानुहोला।

यदि घरको १ जनाको मात्र पिसिआर पोजिटिव देखियो भने पनि पोजिटिव हुने त छुट्टै बस्नै पर्‍यो, बाँकि अरुले पनि क्वारन्टिनका सबै नियमको पालना सकेसम्म गर्नुहोला। नियमः सकेसम्म सबै आफूआफू पनि छुट्टै बस्ने, एकै कोठामा बस्दा सकेसम्म मास्क लगाउने, सँगै खाना नखाने, ७(१० दिनमा पिसिआर गर्ने।

कसैले खोप लगाउनुभएको छैन भने तुरुन्त सरकारले दिएको खोप लगाउन गइहाल्नुहोला। जतिसुकै महिनाका गर्भवती, स्तनपान गराउने आमा, जुनसुकै दीर्घरोग हुने वा औषधी खाने सबैले कोभिड विरुद्ध सरकारले उपलब्ध गराएको जुनसुकै खोप पनि लगाउन सुरक्षित छ, र लगाउनुपर्छ।

सबैजना आफू जोगिऊँ, अरुलाई जोगाऔं ।

संक्रामक रोग विशेषज्ञ सुवेदीको ट्वीटरबाट साभार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर