नेपालमा ‘स्पाइडरम्यान’को उछाल : मल्टिप्लेक्समा शुक्रबारका सबै सोज सोल्डआउट ! – Nepal Press

नेपालमा ‘स्पाइडरम्यान’को उछाल : मल्टिप्लेक्समा शुक्रबारका सबै सोज सोल्डआउट !

भारतमा तीन घण्टामै १ लाख टिकट विक्री

काठमाडौं । हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्सअफिसमा उछाल ल्याउने स्पष्ट संकेत दिएको छ । मंगलबार मध्यान्हसम्मको ट्रेन्ड हेर्दा टम हल्यान्ड र जेन्डाया स्टारर फिल्मको शुक्रबारसम्मको सबै टिकट लगभग बिक्री भैसकेको छ ।

मुलुकका प्रमुख मल्टिप्लेक्सहरुले सोमबार बिहान १० बजेदेखि टिकटको एड्भान्स विक्री थालेका थिए । एड्भान्स बुकिङ चाहिँ दिइएको छैन । क्यूएफएक्स र वान सिनेमाजका प्रमुख मल्टिप्लेक्सको पहिलो दिनको टिकट लगभग सोल्डआउट भैैसकेको छ ।

क्यूएफएक्सले यो फिल्मलाई शुक्रबार ५७ सोज दिएको छ । जसमध्ये काठमाडौंका छायाँ, लबिम र सिभिल आउटलेटका सोजहरु सबै सोल्डआउट छन् । क्यूएफएक्स सीइओ रोशन अडिगाले दर्शकले शनिबारसम्मको लागि पनि टिकटबारे सोधिरहेको बताए ।

क्यूएफएक्सका मुख्य मल्टिप्लेक्समा शनिबारसम्म पनि एड्भान्स सेल सुरु भैसकेको छ । स्पाइडरम्यान रिलिजसँगै शुक्रबारदेखि विराटनगरमा क्यूएफएक्सको नयाँ फिल्म हल रेगल सिनेमाज् पनि संचालनमा आउँदैछ ।

नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा पनि शुक्रबारका सबै सोज सोल्डआउट भैसकेका छन् । मल्टिप्लेक्स प्रमुख प्रज्वल राणाले शनिबारको लागि पनि टिकट विक्री सुरु भएको बताए । ‘ट्रेन्ड हेर्दा लाग्छ स्पाइडरम्यान महामारीपछिको सबैभन्दा ठूलो रिलिज हुनेछ’ राणाले नेपाल प्रेसलाई भने, ‘यसले सूर्यवंशीको ओपनिङलाई पनि उछिन्ने अनुमान छ ।’

नेपालमा स्पाइडरम्यानको क्रेज निकै उच्च रहेको संकेत पछिल्लो ट्रेन्डबाट देखिएको उनले बताए ।

भारतमा समेत स्पाइडरम्यानले एड्भान्स बुकिङ र सेलमा उछाल ल्याएको छ । त्यहाँको प्रमुख मल्टिप्लेक्स चेन पीभीआरमा सोमबार मध्यान्हसम्म १ लाख टिकट विक्री भैसकेको छ । ३ घण्टामै ५० हजार टिकट विक्री भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा स्पाइडरम्यानको ट्रेलर रिलिज भएसँगै यसले सर्वाधिक हेरिने ट्रेलरको कीर्तिमान राखेको थियो । एभेन्जर्स एन्डगेम ट्रेलरको कीर्तिमानलाई पनि यसले उछिनेको थियो ।

स्पाइडरम्यानको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले सुरुआती ट्रेन्ड हेर्दा फिल्मको नेपाल ओपनिङ सशक्त हुने जनाएको छ । एप्पलका रुबेन श्रेष्ठका अनुसार कोरोना महामारीले थलिएको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन स्पाइडरम्यानको व्यापार लाभदायक बन्नसक्छ ।

मार्भल सिनेम्याटिक युनिभर्सको २७ औं फिल्मको रुपमा स्पाइडरम्यान ः नो वे होम नेपालमा प्रदर्शन हुन लागेको हो । ‘नेपालमा हलिउड फिल्मको संस्कृति नै स्पाइडरम्यानदेखि सुरु भएको हो’ रेगल तथा एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले नेपाल प्रेसलाई भने, ‘यो क्रेजलाई हामीले स्वभाविकरुपमा लिएका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर