एमसीसी कार्यालयअगाडि प्रदर्शन (तस्बिर / भिडिओ) – Nepal Press

एमसीसी कार्यालयअगाडि प्रदर्शन (तस्बिर / भिडिओ)

काठमाडौं । नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) सहितका विभिन्न राजनीतिक दलहरुले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् ।

सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन् ।

घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेर्स्याइएकाे तरवार भएको बताए ।

उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौंता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । नेता गजुरेलले एमसीसीको विरोधमा भोली (मंगलबार) संसद भवन घेराऊ गर्ने घोषणा पनि गरे ।

नेता गजुरेलले भने – एमसीसी भनेको एउटा धारिलो तरवार हो । हामी वारीपारी भएर हिँडिरहेका छौँ । तरवार हल्लिरहेको छ । अलिकति सावधानी भएन भने गर्धन काटिन्छ । त्यसकारण एमसीसी संसोधन होइन खारेज गरिनुपर्छ । एक, दुई, तीन खारेज हुनुपर्छ । खारेज नहुँदासम्म हाम्रो संघर्ष जारी रहनेछ ।

कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खारेज हुनुपर्ने बताए ।

उनले भारतमा बजार बिस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाए ।

उनले एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दावी समेत गरे । नेता बास्तोलाले अमेरिकाको गुलाम भएर नबस्नका लागि जनता सडकमा उर्लिनु पर्ने बेला भएको पनि बताए ।

नेता बास्तोलाले नेपाली जनतालाई कंगाल बनाउन, नेपाललाई लुट्नका लागि एमसीसी आइरहेकोले यसलाई खारेज गर्नुपर्ने बताए ।

 

तस्बिरहरू : सरोज बैजु । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर