शब्दचित्र : कांग्रेस मेलामा जे देखियो – Nepal Press

शब्दचित्र : कांग्रेस मेलामा जे देखियो

काठमाडौं । आइतबार मध्यान्न पुतलीसडकबाट राष्ट्रिय सभागृहतर्फ बाटो मोडिँदै गर्दा पञ्चैबाजाको आवाज सुनियो । तर, त्यहाँको माहोलमा बिहेको जन्ती आउने कुनै गुञ्जायस थिएन ।

अलि अगाडि बढिसकेपछि देखियो एउटा र्‍याली, जसको अग्रपंतिमा उस्तै पोशाक लगाएका केही महिलाहरूले सहनाई बजाइरहेका थिए । र्‍यालीमा कोही गीत गाएर नाचिरहेका थिए त कोही नारा लगाइरहेका थिए ।

नारा थियोः मेचीकाली के भन्छ, मदन दाइ ले भन्छ !

र्‍यालीको मध्यभागबाट चारैतर्फ हेर्दै ‘जयनेपाल’ गरिरहेका भलाद्मी नै ‘मदन दाइ’ उर्फ मदनबहादुर अमात्य हुन् भने ठम्याउन गाह्रो थिएन । नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बनेका अमात्यको प्रचारर्‍याली थियो त्यो ।

विपरित दिशाबाट आयो अर्को जुलुस । उनीहरु नारा लगाइरहेका थिए- नेपाली कांग्रेस के भन्छ, रणबहादुर ले भन्छ ।

उक्त जुलुसले समर्थन गरेका डा. रणबहादुर रावल पनि केन्द्रीय सदस्यका उम्मेदवार हुन् । दुई जुलुसहरू जम्काभेट हुँदा पनि त्यहाँ कुनै टकरावको गुञ्जायस थिएन । बरु जुलुसका सहभागीहरू आपसमा मिसिएर सँगै नाच्न थाले ।

०००

भृकुटीमण्डप गेटनजिक सडकमै राखिएको थियो एउटा काउन्टर । भित्र एक महिला कांग्रेस प्रतिनिधिहरूलाई मास्क बाँडिरहेकी थिइन् । मास्क दिँदै गर्दा उनी भन्थिन्- एक भोट मोहनदाइलाई है ।

मोहनदाइ उर्फ केन्द्रीय सदस्यका उम्मेदवार मोहनबहादुर बस्नेतको प्रचारका लागि राखिएको स्टल रहेछ । एक हुल प्रहरी काउन्टरनजिक आए । एकजनाले माइकिङ गर्न थाले- कृपया सबै प्रचार सामग्रीहरू हटाइदिनुहोला, निर्वाचन आचार संहिता लागू भइसकेकाले यहाँ अब कुनै प्रचारप्रसार गर्न पाइँदैन ।

तर, त्यो कोलाहलमा सुन्ने कसले ? ती प्रहरी आफैं भुत्भुताउन थाले- हाम्रो काम भन्ने हो, यत्रा मान्छेलाई एक-एक प्रहरी पछि लगाउन सकिँदैन क्यारे ।

गेटबाट अझै अगाडि झन् रमाइलो माहोल थियो । सुदूरपश्चिमका एक हुल कार्यकर्ता गोलो घेरा बनाएर देउडा गाइरहेका थिए । उनीहरूले गाएको गीतको बोल राम्ररी नबुझिए पनि यो समूह कांग्रेस सभापतिका प्रमुख प्रत्यासी शेरबहादुर देउवाको समर्थनमा रहेको बुझियो ।

एकछिपछि देउवापत्नी आरजु राणाले पनि त्यहाँ इन्ट्री गरिन् र हातेमालो गर्दै देउडा गाउन थालिन् । आरजुको देउडा नृत्य खासै ढंगको देखिएन ।

सडकमा अरु पनि थुप्रै झाँकीहरू थिए । विभिन्न उम्मेदवारका समर्थनमा अनगिन्ती जुलुस निस्किरहेका थिए । एउटा समूह ‘मेची काली के भन्छ, आङगेलु शेर्पा ले भन्छ’ भन्दै चिच्याइरहेको थियो । अर्को समूह ‘…फर्मुला मन्सुर ले भन्छ’ भन्दै उफ्रिरहेको थियो । सरसर्ति नियाल्दा नारावाजीमा विविधता पटक्कै देखिएन ।

एउटा अर्को समूह गोला घेरा बनाएर बसेको थियो । देउडा गाउन लागेको ठानेर हामीले केहीबेर पर्खियौं । तर, उनीहरूले गाएनन् । फोटो खिच्न उभिएका रहेछन् ।

त्यो माहोललाई छाडेर हामी भृकुटीमण्डपभित्र पस्यौं । भित्रको माहोल पनि कम्ता गुलजार थिएन ।

०००

नेपाली कांग्रेसको भव्य स्वागतद्वारबाट भित्र पसेपछि दायाँ-बायाँ किताबका स्टलहरु देखिए । श्रीमद्‍भागवतदेखि कामसूत्रसम्मका किताबहरू सडकका दायाँबायाँ फिँजारिएका थिए । तर, पुस्तकको स्टलमा कांग्रेसजनको खासै आकर्षण देखिएन ।

खास आकर्षण त भित्र भोजनको स्टलमा थियो । दिवा खानाको समय भएको रहेछ । मतदाताहरु खानाका लागि लामो-लामो लाइनमा उभिएका थिए । खानामा पुलाउ-मासु र काउलीका सब्जी थियो ।

भृकुटीमण्डपभित्र केही उम्मेदवारहरू समूहमा भोट माग्दै हिँडिरेहका थिए । शीर्ष नेताहरु भने त्यहाँ देखिएनन् । सभापतिका प्रत्यासी विमलेन्द्र निधीका एक हुल समर्थकसँग साक्षात्कार भयो । उनीहरू तराईदेखि आएका थिए । समूहबाट एकजना हामीसँग कुरा गर्न अघि सरे ।

उनी भन्दै थिए, ‘मलाई राम्रोसँग थाहा छ । अघिल्लो महाधिवेशनमा देउवाले निधीलाई अर्को महाधिवेशनमा तपाईंलाई सघाउँछु भनेर बचन दिनुभएका थियो । तर, उहाँले बचन पूरा गर्नुभएन । धोका भयो ।’

उनले कांग्रेसको चुनाव निधिले जित्ने ठोकुवा गरे ।

‘पहिलो चरणमा त कसैले पनि जित्दैन,’ उनले भविष्यवाणी सुनाए, ‘दोस्रो चरणमा देउवाको र निधिको टक्कर हुन्छ । लेखेर राख्नुस्, चुनाव निधिले नै जित्नुहुन्छ ।’

उनको कुरा पत्याएझैं गरेर हामी आफ्नो बाटो लाग्यौं । अलि पर मधेसी मुलकै एक व्यक्ति मतदातालाई भिजिटिङ कार्ड बाँड्दै भोट मागिरहेका थिए ।

‘डा. सुभाषचन्द्र यादव– शहीदपुत्र’ भन्दै उनले हामीलार्ई पनि एउटा कार्ड थमाए । शहीदपुत्र भनेपछि चासो लाग्यो ।

‘कुन जिल्लाबाट हो ?’ हामीले सोध्यौं ।

‘चिन्नुहुन्न ? सीताको छोरा हो,’ उनले जवाफ दिए ।

‘को सीता ?’ फेरि सोध्यौं ।

‘सीतादेवी यादव चिन्नुहुन्न ? कोषाध्यक्ष ।’

‘ए हो र ?’

त्यसपछि हामीले प्रस्ताव गर्‍यौं, ‘एउटा फोटो खिचौं है । सानो अन्तरवार्ता गर्नुपर्‍यो ।’

उनले फोटो खिचाए, तर अन्तरवार्ता दिन मानेनन् ।

‘म होइन डा.. सुभाषचन्द्र यादव । म त उहाँको कार्यकर्ता हो,’ उनले भने ।

धत्तेरी भन्दै हामी पन्छियौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर