महेश आचार्य भन्छन्- नेता मिलाउनपट्टि लागिनँ, प्रतिनिधिहरूको विवेकमा विश्वास छ – Nepal Press
नेपाल टक

महेश आचार्य भन्छन्- नेता मिलाउनपट्टि लागिनँ, प्रतिनिधिहरूको विवेकमा विश्वास छ

वौद्धिक तथा शालिन छविका कांग्रेस नेता महेश आचार्य कांग्रेसको उपसभापति पदका एक प्रत्यासी हुन् । पार्टीका गुटहरूबाट अलग बनेर उनले उपसभापतिमा ‘स्वतन्त्र’ उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसभित्र लामो बिरासत बोकेको कोइराला घरानाका एक सदस्य हुन् आचार्य । यसपाली यस घरानाबाट सभापतिका उम्मेदवार बनेका शेखर कोइरालासँग आचार्यको पारिवारिक साइनो छ । त्यसका बाबजुद पनि शेखरले उनलाई आफ्नो प्यानलमा नसमेट्नु धेरैका लागि आश्चर्यको विषय रह्यो ।

२०४६ सालमा प्रजातन्त्र पुन:स्थापनापछि बनेको कांग्रेस नेतृत्वको सरकारमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तन्नेरी उमेरका आचार्यलाई विश्वास गरेर अर्थराज्यमन्त्रीको गहन जिम्मेवारी सुम्पिएका थिए । अर्थशास्त्र पढेका पार्टीभित्रका घाघडान नेताहरूलाई पन्छाउँदै भाञ्जालाई मन्त्री बनाएको भनेर कोइराला आलोचित पनि बने । तर, आचार्यले कुशलतापूर्वक जिम्मेवारी निभाउँदै सफल अर्थमन्त्रीका रुपमा आफूलाई उभ्याए । उनको कार्यकालमा देशका आर्थिक परिसूचकहरू सकारात्मक थिए भने अर्थव्यवस्थामा स्थिरता छाएको थियो ।

त्यसयता भने आचार्य प्राय लो प्रोफाइलमै रहे । दुईपटक मन्त्री बने पनि उनको धेरै चर्चा भएन । कांग्रेसमा झण्डै तीन दशकदेनि निरन्तर केन्द्रीय सदस्य भए, तर गतिलो भूमिका पाएनन् । २०७४ सालको चुनावमा मोरङबाट पराजित भएपछि उनको राजनीति थप स्खलित बनेको छ ।

उपसभापति पदको उम्मेदवारी आचार्यका लागि राजनीतिक पुनरुत्थानको अवसर बन्न सक्छ, तर यो त्यति सहज छैन । पार्टीमा दुईजना उपसभापति प्रतिनिधिहरूले निर्वाचित गर्ने प्रावधान छ, जसमा आचार्यसहित ७ जना उम्मेदवार खडा छन् । अरु सबै उम्मेदवारहरूलाई प्यानल वा गुटको समर्थन छ, आचार्य एक्ला छन् । अब उनको दाबेदारी कांग्रेसका पाँच हजार प्रतिनिधिहरूको विवेकमा निर्भर गर्छ ।

प्यानलमा नअटाए तापनि आचार्यलाई ‘सिरियस क्यान्डिडेट’ मानिएको छ । यसकारण कि आचार्य पार्टीलाई ‘चाहिने मान्छे हुन्’ भन्ने सोच राख्नेहरू कांग्रेस पंतिभित्र प्रशस्तै छन् ।

आइतबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा आचार्य उत्साही मुद्रामा भेटिए । उनले आफ्नो लागि जित-हार भन्दा पनि मुद्दाको उठान प्रमुख सरोकार भएको बताएका छन् । प्रतिनिधिसँग भोट माग्दै आचार्यले नेपाल प्रेससँग गरेको संक्षिप्त सवालजवाफः

– उपसभापति पदमा उम्मेदवारी दिएपछि आफ्नो चुनावी माहोल कस्तो पाउनुभएको छ ?

ठीकठाक छ । उत्साहपूर्णरुपमा महाधिवेशन भइरहेको छ । हामी भोट मागिरहेका छौं । मतदाताहरुले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । म उत्साहित छु ।

– धेरैको चासो छ, तपाईं कोइराला परिवारनिकट भएर पनि शेखर कोइरालाको प्यानलमा किन अटाउन सक्नुभएन ?

मलाई लाग्छ, यो त्यति महत्वपूर्ण होइन । वीपीको, गिरिजाबाबुको लिगेसी र परम्परामा हामीले काम गर्‍यौं । गणेशमानजी, किशुनजीको परम्परामा हामीले काम गर्‍यौं । त्यसैले अबको नयाँ पुस्तामा को कहाँ छन् भन्नेले त्यति महत्व राख्दैन । काम गरेर, पार्टीका अघि भएका चुनौतिको सामना गर्दै राष्ट्रिय समस्या समाधान गर्ने प्रयत्नमा हामी लाग्नुपर्छ । हामी सबै एउटै परिवारका अंग हौ ।

देशका अगाडि ठूला संकटहरू छन् । कोरोनाबाट रिकभरि प्लानका बारेमा हामी बहस गर्न सकिरहेका छैनौ । संसद चलेको छैन, सरकार राम्ररी चलेको छैन । न्याय क्षेत्र अस्तव्यस्त छ । लोकतन्त्रका आधारभूत स्तम्भ खल्बलिएको बेला पार्टीको महाधिवेशन हुँदैछ । यसबाट देशलाई कसरी जोगाउने भन्ने विचार र नीतिमाथि बहस नहुँदा कांग्रेसजन आत्तिएको अवस्था देखेको छु ।

– र, पनि कुनै पनि प्यानलमा नपर्दा आफ्नो दावेदारी कमजोर बनेको महसुस भएको छैन ?

त्यस्तो त पटक्कै लागेको छैन । मैले नेतालाई मिलाउन नसकौंला तर पार्टीका प्रतिनिधिहरूप्रति मलाई भरोसा छ ।

– प्यानलमा नपर्नुमा तपाईंको आफ्नै अनिच्छा हो कि तपाईंलाई बेवास्ता गरिएको हो ?

मसित दुईवटा विकल्प थियो । नेता मिलाउनेपट्टि लाग्ने कि पाँच हजार साथीहरूको विशाल पंति छ, उहाँहरूको विश्वास जित्ने ? म नेता मिलाउनपट्टि लागिनँ । शक्तिको स्रोत भनेको हाम्रो महाधिवेशन प्रतिनिधिहरू हुन् । त्यसैले उहाँहरूको विवेकमा मैले आफूलाई छोडेको छु । मलाई विश्वास छ, साथीहरूले विवेकको भोट गर्नुहुनेछ । मैले जे समस्या मैले उठाइरहेको छु, देखाइरहेको छु, त्यो समस्या र ती बुँदाहरूमा साथीहरू लामबद्ध हुनुहुनेछ भन्नमा म आशावादी छु ।

– तपाईंले देखाएका समस्या र मतदातासँग व्यक्त गरेका प्रतिबद्धताहरू के-के हुन् ?

मैले केही एजेन्डा उठाएको छु । पार्टीमा गम्भीर सांगठनिक समस्यामा छ । गुटबन्दीको रोग छ । धमिराले खाएको जस्तो भएको छ संगठन । आन्तरिक लोकतन्त्रको क्षयीकरण भएको छ । विचार र नीतिप्रधान भएर हामी नेतृत्व चयन गरिराखेका छैनौं । व्यक्तिको अनुहार र गुटगत समीकरणबाट नेता चयन गर्ने पद्धतिमा हिँडेका छौं । यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउँदै लगेको छ ।

देशका अगाडि ठूला संकटहरू छन् । कोरोनाबाट रिकभरि प्लानका बारेमा हामी बहस गर्न सकिरहेका छैनौ । संसद चलेको छैन, सरकार राम्ररी चलेको छैन । न्याय क्षेत्र अस्तव्यस्त छ । लोकतन्त्रका आधारभूत स्तम्भ खल्बलिएको बेला पार्टीको महाधिवेशन हुँदैछ । यसबाट देशलाई कसरी जोगाउने भन्ने विचार र नीतिमाथि बहस नहुँदा कांग्रेसजन आत्तिएको अवस्था देखेको छु ।

मेरो उम्मेदवारीको उद्देश्य यिनै मुद्दाहरूलाई पार्टीको सर्वोच्च निकायका रूपमा रहनुभएका पाँच हजार प्रतिनिधि माझमा प्रक्षेपित गर्नु हो ।
मलाई जित-हारको धेरै चिन्ता छैन । यो संकटलाई टाल्नका निम्ति कांग्रेसजस्तो पार्टीले लिनुपर्ने अग्रसरतामा कमि भयो कि भन्ने चिन्ताले म आफ्नो उम्मेदवारीको कुरा गर्दैछु ।

– महाधिवेशनले कांग्रेसलाई तपाईंले सोचेको दिशामा लैजाला त ? कति आशावादी हुनुहुन्छ ?

लैजानुपर्छ भन्ने मान्यता हो हाम्रो । संकल्प र अठोट पनि हो ।

– उपसभापति पदमा आफ्ना प्रतिस्पर्धीहरूलाई कसरी हेर्नुभएको छ ?

सबैप्रति मेरो शुभेच्छा छ । यो कुनै विरोधी पार्टीहरूबीचको टकराव होइन । हाम्रै पार्टीका सँगै दुख गरेका साथीहरू हुन् । सबैका प्रति शुभेच्छा छ । तर, मैले जिम्मेवारीमा जाने विषय प्रवेश गराएर उम्मेदवारी दिएको छु । सबै साथीहरूको शुभेच्छा पनि मसित रहने आशा गरेको छु ।

– यस्तो प्यानलगत प्रतिस्पर्धाले कांग्रेसलाई कमजोर बनाउँछ भन्ने लाग्दैन ?

यो वास्तवमा कुनै विचारमा आबद्ध भएर समूह बनिरहेको छैन । पुराना व्यक्तिका पछाडि कठोर र जटिल बन्दै गएको गुटले क्षति गर्छ भन्ने मलाई लाग्छ । मैले धमिरा भन्ने गरेको छु । गुटबन्दीको धमिरा हाम्रो सांगठनिक संरचनामा प्रवेश गरेको छ । यो घातक हुन्छ भन्ने लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर