कांग्रेस महाधिवेशन : चुनावअगावै बधाइ खाइरहेका यी दुई नेता – Nepal Press

कांग्रेस महाधिवेशन : चुनावअगावै बधाइ खाइरहेका यी दुई नेता

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भोली निर्वाचन हुँदैछ । तर, निर्वाचन अगावै केन्द्रीय सदस्य निर्वाचित भएपछि दुई नेतालाई बधाइ खान भ्याइनभ्याइ छ ।

यी हुन् धनुषाका आनन्दप्रसाद ढुंगाना र पर्साका रमेश रिजाल । प्रदेश २ बाट खुल्ला २ केन्द्रीय सदस्यको कोटामा उनीहरु निर्वाचित निर्वाचित भएका हुन् ।

सुरुमा तीनजनाको उम्मेवारी परे पनि तेस्रो उम्मेदवार जंगीलाल यादवले उम्मेदवार फिर्ता लिएपछि उनीहरुले चुनाव भिड्ने लेठो गरिरहनु परेन ।

आइतबार दिउँसो महाधिवेशनस्थल भृकुटीमण्डमा अन्य उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त थिए । ढुंगाना र रिजाल भने माला र खादा पहिरिएर प्रशन्न मुद्रामा मतदाताहरुलाई धन्यवाद ज्ञापन गरिरहेका भेटिए ।

कार्यकर्ताको दलबलसहित भृकुटीमण्डपभित्र हिँडेका ढुंगाना कांग्रेस प्रतिनिधिसँग भन्दै थिए, ‘तपाईंको शुभेच्छा र आशिर्वादले केन्द्रीय सदस्य भएको छु । यो विश्वासलाई खेर जान दिन्न ।’

को हुन् रिजाल र ढुंगाना ?

ढुंगाना धनुषाबाट प्रतिनिधित्व गर्ने पुराना कांग्रेस नेता हुन् । धनुषाबाट उनले विगतका चुनावमा एमालेका ईश्वर पोखरेल र रघुवीर महासेठ जस्ता हस्तिलाई हराएका छन् ।

पछिल्लो चुनावमा भने उनी माओवादीका मात्रिका यादवसँग् पराजित भएका थिए । उनी पटक–पटक केन्द्र सरकारमा मन्त्रीसमेत भएका छन् ।

पर्सा जिल्लाका नेता रिजाल कांग्रेस अनुशासन समितिका सदस्य थिए । उनी यसअघि पनि कांग्रेस केन्द्रीय सदस्य रहिसकेका छन् । रिजालले २०४८ र २०५१ सालमा पर्सा क्षेत्र नं. ४ बाट चुनाव जितेका थिए भने संविधानसभामा पर्सा क्षेत्र नं. ५ बाट विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर