कांग्रेस महाधिवेशन : १ सय ३४ पदका लागि ५४८ उम्मेदवार मैदानमा – Nepal Press

कांग्रेस महाधिवेशन : १ सय ३४ पदका लागि ५४८ उम्मेदवार मैदानमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने निर्वाचनमा १ सय ३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिमा ६ जना, २ उपसभापतिका लागि ७ जना र २ महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ । सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको हो ।

उपसभापतिमा पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला , महेश आचार्य र दिव्यश्वरी शाहको उम्मेदवारी दर्ता भएको छ । महामन्त्रीमा गगन थापा, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीको उम्मेदवारी परेको छ ।

सहमहामन्त्रीका लागि २० जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस विधानअनुसार ८ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । सहमहामन्त्रीका लागि बद्रीप्रसाद पाण्डे, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, जीवनबहादुर शाही, गगां सुनार, महेन्द्र यादव, भीष्मराज आङदाम्बे, चेतराज बजाल, शेख वकी, उमाकान्त चौधरी र डिना उपाध्यायले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै ३५ जना निर्वाचित हुने खुल्ला केन्द्रीय सदस्यमा १ सय ९ जना, ९ जना निर्वाचित हुने महिला केन्द्रीय सदस्यमा ३१ जना, प्रदेशतर्फको २१ जना केन्द्रीय सदस्यका लागि ६४ जना, समावेशीतर्फको ५४ केन्द्रीय सदस्यका लागि २ सय ८३ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै १–१ जना निर्वाचित हुने अल्पसंख्यक केन्द्रीय सदस्यमा ६ जना र अपाङ्गता भएका व्यक्तितर्फ १६ जनाको उम्मेदवारी दर्ता भएको जनाइएको छ ।

निर्वाचन कार्यक्रम अनुसार दावी विरोधका लागि छुट्याइएको समय सकिएको छ । अब निर्वाचन समितिले आज राति नौ बजेदेखि १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशित गर्नेछ ।

उम्मेदवारी फिर्ता लिन निर्वाचन समितिले आइतबार बिहान ११ बजेसम्मको समय दिएको छ । उम्मेदवारहरुको अन्तिम नामावली आइतबार सवा १२ बजे प्रकाशित हुनेछ । निर्वाचन समितिले सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर