अन्तर स्थानीय तहमा सरुवा भएका १६ सय कर्मचारीकाे पत्र अनलाइनबाट – Nepal Press

अन्तर स्थानीय तहमा सरुवा भएका १६ सय कर्मचारीकाे पत्र अनलाइनबाट

काठमाडौं । सरकारले केहि दिन अघि मात्रै अन्तर स्थानीय तहमा सरुवा गरेका १६ सय कर्मचारीका लागि अनलाइनबाटै पत्र लिन पाउने व्यवस्था गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयकै वेवसाइटबाट स्वयम कर्मचारीले पत्र लिन पाउने व्यस्था गरेको हो ।

मंसिर १९ र २० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरीय निर्णयबाट अन्तर स्थानीय तहमा १६ सय १३ जना कर्मचारीको सरुवा गर्ने निर्णय भएको थियो । मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले अन्तर स्थानीय तह कामकाजमा खटाईएका कर्मचारीको पत्र मन्त्रालको वेव साइटमा अपलोड गरिएको जनाएको छ । उक्त लिंकबाट आफ्नो पत्र प्रिन्ट गरेर लिने आग्रह गरिएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

अनलाइनबाट पत्र प्राप्त गर्नका लागि वेवसाइटको लिंकमा गइसकेपछि राष्ट्रिय कितावखानामा अद्यावधिक भए अनुसारको आफ्नो विवरण (संकेत नम्बर, मोवाइल नम्बर र जन्म मिति) प्रविष्ट गरिसकेपछि पत्र डाउनलोड गर्न सकिने छ । उक्त अनलाइन प्रणालीबाट प्राप्त फोटोकपी गरी आफू कार्यरत स्थानीय तह र कामकाजमा खटाईएको स्थानीय तहमा समेत बुझाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

मोवाइल नम्बर राख्दा सम्पत्ति विवरण बुझाउँदा उल्लेख गरिएको मोबाइल नम्बर राख्नुपर्ने जनाइएको छ । पत्र डाउनलोड गर्दा कुनै समस्या भएमा वा पत्रमा त्रुटि भएमा स्थानीय तह कर्मचारी प्रशासन शाखामा फोन नम्बर ०१–४२००२९९० सम्पर्क राख्‍न पनि मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर