बुटवल सडक विस्तारमा ठेकेदारको मनपरी, पाँच वर्षसम्म पनि काम अधुरै – Nepal Press

बुटवल सडक विस्तारमा ठेकेदारको मनपरी, पाँच वर्षसम्म पनि काम अधुरै

रुपन्देही । पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेल आफैले बुटवलको सडक विस्तारलाई समयमा सकाउन धेरै पटक अग्रसरता लिए । लामो समय स्थानीयको मुद्दा प्रकृयाले रोकेको यो बाटोलाई अहिले ठेकेदारले अनेक बहाना बनाएर ढिलाई भएको छ ।

बुटवलको मुख्यमार्गमा रहेको राजमार्ग चौराहदेखि चिडियाखोलासम्मको यो बाटोको समस्याले बुटवलको पहिचानलाई नै बिगारेको भन्दै यहाँका स्थानीय नै आन्दोलनमा अत्रनुपरेको छ ।

९ महिनाअघि अदालती झमेलाबाट मुक्त भएको यो सडक विस्तारलाई छिटो टुंगो लगाउन नेता पौडेलले धेरै पटक विभागसँग मिटिङ बसाइरहेका छन् । जिल्ला आउँदा सडक विभागका प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीय पालिका प्रमुखलाई सँगै राखेर ठेकेदारलाई छिटो काम पूरा गर्ने प्रतिवद्धता पनि गराए तर काम अगाडि बढ्न सकेको छैन ।

नागरिकस्तरबाटै पटकपटक दवाव श्रृजना भएपनि बुटवलको ६ लेन सडक निर्माणमा भने निर्माण कम्पनीले चासो दिएको छैन । बेलहिया बुटवल व्यापारिक मार्ग बिस्तार आयोजना अन्तर्गत राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडकको निर्माणको जिम्मा लिएको द कञ्चनजंगा बिरुवा जेभी काठमाडौंले सडक निर्माणप्रति वेवास्ता गर्दै आएको हो ।

२०७४ साल चैत ३० गते सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम सुरु नगर्दै ०७४ साल र ०७७ सालमा दुईपटक गरी मोभिलाईजेसन भन्दै ८ करोड २६ लाख रुपैयाँ लगिसकेको छ । तर सडक निर्माण गर्नेतर्फ भने वेवास्ता गर्दै आएको छ ।

कुल ४७ करोड २७ लाख ८ हजार २ सय ८७ रुपैयाँ लागतमा निर्माणको सम्झौता गरेको ठेकेदार कम्पनीले १८ प्रतिशतभन्दा बढी रकम लगिसकेको छ । तर राजमार्ग चौराहदेखि बसपार्कसम्म नाली खन्ने काम गरेपनि देखिनेगरी कुनै काम भएको छैन । सबै क्षेत्रबाट सडक निर्माणको लागि दवाव श्रृजना गरिएपछि तिहारलगत्तै नाली बनाउन सुरु गरेको थियो । तर पछिल्लो एकसाता यता भने सबै काम ठप्प पारेको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी बताउँछन् ।

व्यवसायीलाई सटर भत्काउन लगाएर महिनौ अगाडि अस्तव्यस्त बनाउने अनि कामको कुनै सुरुवात नै नगर्ने यो हाम्रो अपमान हो, हामीलाई हेपिएको हो, विभाग, जनप्रतिनिधि यहाँका स्थानीयसँग जवाफदेही भएनन्– उनले भने ।

डिभिजन सडक कार्यालयका प्रमुख जयलाल मरासिनीले पटकपटक सडक निर्माणको लागि ताकेता गरेपनि निर्माण कम्पनीले अटेर गर्दै आएको स्वीकार गर्छन् । मरासिनीका अनुसार निर्माण कम्पनीले अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयले समेत सडक निर्माणमा ढिलाई नगर्न दवाव दिएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा निर्माण कम्पनीका तर्फबाट उपस्थित भएका सुमित श्रेष्ठले यथाशीघ्र सडक निर्माणको काम अगाडि बढाउने प्रतिवद्धता जनाएपनि सडकको धुलोमा पानी हाल्नेबाहेक निर्माणको कुनैपनि काम अगाडि बढाएका छैनन् ।

डिभिजन सडक कार्यालयका प्रमुख मरासिनीले तत्काल काम अगाडि नबढाए मोभिलाइजेसन रकम फिर्ता ल्याउने चेतावनीसमेत दिएका छन् ।

पाँच वर्षअघि ठेक्का सम्झौता गरिएको सडकको तेश्रोपटक थप गरिएको सम्झौता मिति आगामी असार मसान्तसम्म मात्रै रहेको छ । सबै क्षेत्रबाट दवाव बढेपछि सडक भत्किएर लथालिंग बनेको अस्पताललाइन, मिलनचोक, ट्राफिकचोक र राजमार्ग चौराहमा केही दिन पानी छर्किएर धुलो मार्ने प्रयास गरेपनि उक्त कामसमेत अहिले बन्द गरेको छ ।

उक्त कम्पनीले बुटवलमा मात्र होइन बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको अन्य दुई खण्डको सडक निर्माणसमेत अलपत्र पारेको छ । बुटवल तर्फको सडकसँगै ठेक्का सम्झौता गरिएको भैरहवातर्फ बेलहियादेखि बाईपास सम्मको ७ सय ५० मिटर सडकको निर्माण पनि अलपत्र छ ।

निर्माण व्यवसायी सुमित श्रेष्ठकै स्वामित्वमा रहेको विरुवा कन्ट्रक्सन प्रालिले १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त खण्डमा सुरुदेखि नै कुनै अवरोध नभएपनि अहिलेसम्म निर्माण पूरा भएको छैन । त्यस्तै यहि सडकको लखनचोकदेखि अञ्चलपुरसम्मको २ किलोमिटर सडक पनि सुमित श्रेष्ठकै बिरुवा श्रेष्ठ एपेक्स जेभीले निर्माणको जिम्मा लिएको थियो ।

२०७२ साल माघ महिनामा ४१ करोडको ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको थियो । ३० महिनामा निर्माण पूरा गर्नुपर्ने सम्झौता गरिएपनि सो खण्डको सर्भिस लेन अझैपनि अधुरै छ ।

बेलहियादेखि बुटवल गोलपार्कसम्मको अरु खण्डको निर्माण कार्य सम्पन्न भएपनि सुमित श्रेष्ठकै जिम्मामा रहेका तिनवटा खण्ड अधुरै रहँदा बुटवल बेलहिया सडकको विषयलाई लिएर सरकारको निरन्तर आलोचना भइरहेको छ ।

यो विषयमा यहाँ क्रियाशील रहेका २० वटा संघसंस्थाहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उनीहरुले प्रदेशको मुकाम रहेको बुटवलको मुख्यमार्ग लामोसमय अस्तव्यस्त हुँदा यसका ठेकेदारलाई छिटो ताकेता गर्न आग्रह गर्दै अन्य विकासे आयोजनामा चासो दिन आग्रह गरिएको चुरे संरक्षण अभियानका संयोजक कमल गौतमले बताए ।

यो सडकखण्डमा पर्ने केही व्यवसायीले पुनरावेदन तथा सर्वोच्चमा पटक पटक मुद्दा दिएकाले ढिलाई भएकोमा ९ महिनाअघि सर्वोच्चले बाटो बिस्तारकाको अनुमति दिएको थियो ।

एउटै मुद्दामा जिल्ला, पुनरावेदन तथा सर्वोच्चले अलग अलग फैसलाले ढिलाईमा बलियो बनेका ठेकेदारलाई त्यसपछि मूल्यवृद्धि, म्याद थप, लागत बढेकोलगायतका बहानाबाजीले ढिलाई भएको सडक डिभिजन कार्यालयको बुझाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर