कांग्रेसमा कान्छी केन्द्रीय सदस्य बन्नेगरि रामेछापकी बिनिता चुनावी मैदानमा – Nepal Press

कांग्रेसमा कान्छी केन्द्रीय सदस्य बन्नेगरि रामेछापकी बिनिता चुनावी मैदानमा

काठमाडौं । कांग्रेसमा ७६ वर्ष पुगिसकेका हजुरबुबा उमेरका शेरवहादुर देउवाले सभापति दोहोरिन खोजिरहेका बेला २६ वर्ष पुग्दै गरेकी नातिनी उमेरकी विनिता खड्का पनि केन्द्रीय कार्य समिति सदस्यको रेसमा थपिएकी छन् ।

रामेछापबाट महाधिवेशन प्रतिनिधि बनेकी खड्काले विहीवार आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा खस आर्यतर्फको महिला कोटाबाट आफूले उम्मेदवारी दिन लागेको खड्काले नेपाल प्रेसलाई बताइन् । उनी जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतले बिजयी भएकी थिइन् ।

कांग्रेस केन्द्रीय कार्य समिति सदस्यमा उनी सम्भवतः सबैभन्दा कान्छी उम्मेदवार हुन् । जिल्लामा उनी रामचन्द्र पौडेल समूहबाट महाधिवेशन प्रतिनिधि भएकी थिइन् । कांग्रेसमा युवाको हस्तक्षेपका लागि अभियान चलाउँदै आएकी उनी उद्यमी समेत हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी रामेछापको सुनापति गाउँपालिकाबाट उपाध्यक्ष उम्मेदवार बनी दोस्रो स्थानमा आएकी थिइन् । उनका पिता भुवन खड्का र काका बद्री खड्का पनि जिल्लाका स्थापित कांग्रेस नेता हुन् ।

१३ औं महाधिवेशनमा २० वर्षको उमेरमै सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधि बनेकी खड्का दोस्रोपटक आउँदा सबैभन्दा कान्छी केन्द्रीय सदस्य बन्ने गरि प्रतिस्पर्धामा उत्रिएकी छन् ।

अघिल्लै महाधिवेशनमा केन्द्रीय सदस्य बन्न खोज्दा क्रियाशील सदस्यताको उमेर नपुगेकाले आफू बन्चित भएको खड्काको भनाइ छ ।

विद्यालय तहदेखिनै नेविसंघबााट राजनीति थालेकी खड्का जिल्लाबाट केन्द्रमा बलियो उपस्थिति जनाउन आफू उम्मेदवार बनेको बताउछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर