सभापति लड्ने कि देउवासँगै मिल्ने भन्नेबारे सिटौला परामर्शमा – Nepal Press

सभापति लड्ने कि देउवासँगै मिल्ने भन्नेबारे सिटौला परामर्शमा

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफू निकट नेताहरुको बैठक बोलाएका छन् ।

१४ औं महाधिवेशनमा लिने रणनीतिबारे छलफल गर्न सिटौला पक्षको बैठक बोलाइएको हो । गौशालास्थित सम्पर्क कार्यालयमा आज दिउँसो बस्ने बैठकमा छुट्टै प्यानल बनाउने वा कुन पक्षसँग सहकार्य गर्ने ? भन्ने विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी, प्रदीप पौडेल, शिवप्रसाद हुमागाईं, पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान, भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी एवं महाधिवेशन प्रतिनिधिहरुलाई बोलाइएको छ ।

पूर्व महामन्त्री सिटौलाले १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका थिए । त्यसयता आफ्नो अलग्गै समूह बनाएका सिटौलाले तल्लो तहका अधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहसँग सहकार्य गरेका थिए ।

महाधिवेशनमा सभापतिमै उम्मेदवारी दिने वा सम्मानजनक सहभागिता सुनिश्चित गरेर देउवासँग मिल्ने भन्नेबारे आज निष्कर्षमा पुग्ने सिटौला पक्षका एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर