पत्रकारिता आचारसंहिताको प्रचार गर्दै प्रेस काउन्सिलको टोली सुदूरपश्चिममा – Nepal Press

पत्रकारिता आचारसंहिताको प्रचार गर्दै प्रेस काउन्सिलको टोली सुदूरपश्चिममा

कैलाली । पत्रकारितामा देखिएको विकृतिले आमजनतामा विश्वसनीयता घटिरहेको भन्दै प्रेस काउन्सिलले आचारसंहिताको प्रचार तथा सन्चारमाध्यमप्रतिको गुनासो सुन्न सुदूरपश्चिम पुगेको छ ।

कैलालीमा बुधबार कार्यक्रम सम्पन्न गरी काउन्सिलको टोली कन्चनपुर पुगेको छ । विहीबार कन्चनपुर, शनिबार डोटी र आइतबार अछाममा अन्तर्क्रिया आयोजना गरिनेछ ।

बुधबार धनगढीमा पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउँदै कार्यक्रमको उद्घाटन गरियो । सामान्यतः दीप प्रज्वलन गरेर वा ब्यानर अनावरण गरेर उद्घाटन हुँदै आएकोमा यसपल्ट पत्रकारिता आचारसंहिता पूर्णत लागू गर्ने प्रतिवद्धता सहभागीबाटै गराएर कार्यक्रमको सुरुआत गरिएको हो ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय आचारसंहिता पालना नभएको गुनासोहरू बढिरहेको जनाए । ‘हामी कडाइका साथ आचारसंहिता पालना गराउने अभियानमा छौं,’ उनले भने, ‘मर्यादित पत्रकारिताको लागि आचारसंहिता पालना गर्न आवश्यक देखिएको छ । ’

काउन्सिलले मापदण्ड तयार गरेर पत्रिकाको जस्तै अनलाइनहरूको पनि वर्गीकरण गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए । पत्रिकाको जस्तै अनलाइनको वर्गीकरण आवश्यक भइसकेको छ । हामी मापदण्ड बनाउने कामको अन्तिम चरणमा छौं,’ उनले भने ।

उनले यूट्युवहरुलाई पनि दायरामा ल्याउने काम समेत भइरहेको बताए । यूटयुवबाट प्रशारित समाग्रीका विषयमा पनि काउन्सिलमा थुप्रै उजुरी परिरहेको बताउँदै यसले अन्य मिडियाहरूलाई पनि प्रभाव पारिरहेको जनाए ।

पत्रकारहरुको शैक्षिक योग्यताका विषयमा पनि काउन्सिल गम्भीर रहेको बस्नेतले बताए । ‘सबैको सामान्य योग्यता निर्धारण गरिएको हुन्छ तर पत्रकारको छैन,’ उनले भने, ‘यसको लागि पनि हामीले योजना बनाइरहेका छौं । ’

कार्यक्रममा उपस्थित पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष चित्रांग थापा, पूर्व केन्द्रीय सदस्यहरू मीन बम, श्याम भट्ट, दिल बहादुर छत्याल, कर्ण शाह, मनमोहन स्वार, बानका केन्द्रीय उपमहासचिव गोविन्द रोस्यारा,पत्रकार महासंघ कैलालीका निर्वतमान अध्यक्ष जगत साउद लगायतले पछिल्लो समय आचारसंहिता उन्लंघनका घटना बढिरहेमा चिन्ता व्यक्त गरेका थिए । वर्तमान केन्द्रीय सदस्य भरत शाहले पत्रकार महासंघ पनि यस विषयमा गम्भीर रहेको जनाए ।

पत्रकार आचारसंहिता जागरण र मिडिया प्रतिको जनगुनासो सुनुवाइ कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेत सहित सदस्यहरू हरि जोशी र लालबाबु शेक उपस्थित थिए ।

पत्रकार महासंघ कैलाली शाखाले समन्वय गरेको कार्यक्रममा जिल्लाका ७५ बढी पत्रकारहरूको उपस्थिति रहेको थियो । सहभागी पत्रकारहरूले पनि काउन्सिलले पछिल्लो समय पत्रकार र पत्रकारिताका विषयमा उठाएका विषयहरुको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर