महामन्त्रीका सशक्त दाबेदार खाँण, विद्यार्थी र तरुणको अध्यक्षदेखि गृहमन्त्रीसम्म – Nepal Press
कांग्रेस महाधिवेशन

महामन्त्रीका सशक्त दाबेदार खाँण, विद्यार्थी र तरुणको अध्यक्षदेखि गृहमन्त्रीसम्म

रुपन्देही । रुपन्देहीबाट राजनीतिक यात्रा सुरु गरेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पार्टी पदाधिकारीको लागि संस्थापन समूहबाट बलियो दाबेदारका रुपमा अगाडि आएका छन् ।

जनआन्दोलनको समयमा नेपाल विद्यार्थी संघको अध्यक्ष भएर आन्दोलनमा होमिएका उनी २०५४ सालमा नेपाली कांग्रेसले बहुमत गुमाएपछि तरुण दलको अध्यक्ष बनेर देशव्यापी अभियानमा हिंडेर चर्चामा आएका थिए ।

उनी निकटका नेता कार्यकर्ताले खाँणको इतिहासलाई जोडेर महामन्त्रीको दाबेदारीको रुपमा प्रचारमा ल्याए पनि आधिकारिक रुपमा संस्थापन समूहले उम्मेदवार टुंगो भने लगाएको छैन ।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका पूर्वअध्यक्ष, नेपाली कांग्रेस निर्वाचन परिचालन समितिको पूर्वसंयोजक र नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकसँगै गृहमन्त्री रहेका नेता खाँणलाई जसरी पनि महामन्त्रीमा बनाउनुपर्ने भन्दै कार्यकर्ताले प्रचार सुरु गरेका छन् ।

तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई ०५६ सालमा केन्द्रीय समितिमा मनोनित गरेपछि त्यसयता लगातार सोही जिम्मेवारीमा छन् । २२ वर्ष केन्द्रीय समितिमा बसेका खाँण अहिले पार्टीको शक्तिशाली महामन्त्रीमा सशक्त दाबेदारी बनेका हुन् ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका दाहिने हातजस्तै भएका खाँण कार्यबाहक प्रधानमन्त्री बन्ने मौका पनि पाइसकेका छन् । नेपाली विद्यार्थी संघबाट राजनीति शुरु गरेका ६० वर्षीय खाँण अहिले समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् ।

उनी रूपन्देहीको तिलोत्तमा क्षेत्र नं. ३ को मणिग्रामका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निकटमा रहेका उनी अहिलेको मन्त्रिमण्डलमा गृहमन्त्री छन् । पार्टी सभापति देउवाका विश्वासिला पात्र मानिएका उनी अहिले प्रतिनिधिसभामा प्रमुख सचेतकको जिम्मेवारीमा छन् ।

विद्यार्थी राजनीतिमार्फत २०३० सालबाट राजनीति प्रारम्भ गरेका खाँण २०७४ को निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएका थिए । २०६४ मा उनी रुपन्देही क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

उनले नेविसंघ अध्यक्षको हैसियतले २०४६ को जनआन्दोलनमा विद्यार्थी समूहको नेतृत्व गरेका थिए । राजनीतिक यात्राका क्रममा उनले पञ्चायतकालमा करिब २ वर्ष जेलजीवन बिताएका छन् ।

यसअघि रक्षा, सिंचाइमन्त्री, शिक्षा राज्यमन्त्री भइसकेका खाँणले त्रिवि स्ववियु सभापति, ०४४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष र ०५५ सालमा तरुण दलको अध्यक्षको जिम्मेदारीसमेत सम्हालिसकेका छन् ।

‘जनआन्दोलनमा नेपाल विद्यार्थीको नेतृत्वमा रहेर आन्दोलनको कमाण्ड गरेको हुँ, ०५४ सालमा तरुण दलको अध्यक्ष बनेर आफ्नो निर्वाचन क्षेत्रमा नबसी पार्टी संगठन बनाउन देशव्यापी अभियानमा हिंडेको सिपाही हुँ’, उनी भन्छन्, ‘मलाई देशभरका साथीहरुले जसरी पनि महामन्त्रीमा अगाडि बढ्न दबाब दिनुभएको छ, तर पार्टीले सबै पदमा कसलाई कसलाई पठाउने निर्णय गरेर अगाडि बढ्छ, सभापतिमा अहिलेका सभापति तथा प्रधानमन्त्री दोहोरिनुहुन्छ ।’

२०४८ को संसदीय निर्वाचनमा रूपन्देही क्षेत्र नं. ३ बाट विजयी खाँण २०५१ मा समेत संसदका उम्मेदवार भए पनि जित्न सकेनन् । ०५६ मा चुनाव नलडी तरुण दलको जिम्मेवारीमा लागेका थिए । उनी त्यो बेला पार्टी केन्द्रीय समितिमा मनोनित भएका थिए ।

राजनीतिशास्त्रमा एमए गरेका बालकृष्ण चार भाइमध्ये माइला हुन् । उनका जेठा दाजु नेपाल प्रहरीको एसपीबाट रिटायर्ड हुन् । बालकृष्णका साइला भाइ रामकृष्ण नेपाली कांग्रेस रुपन्देहीको सभापति बनेका छन् । बालकृष्णका कान्छा भाइ श्यामकृष्ण व्यवसायी हुन् ।

देशव्यापीरुपमा आफ्नो बलियो नेटवर्क बनाएका खाँण आफ्नो क्षेत्रमा इतर समूहबाट कमजोरजस्तो देखिएका छन् तर गृहजिल्लामा सहोदर भाइ रामकृष्ण खाँणलाई सभापतिसहित सबै नेतृत्व सर्वसम्मत बनाएका कारण उनको आलोचना गर्नेहरुलाई जवाफबिहीन बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *