जावलाखेललाई हराउँदै मछिन्द्र दोस्रो स्थानमा – Nepal Press

जावलाखेललाई हराउँदै मछिन्द्र दोस्रो स्थानमा

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब जावलाखेल युथ क्लबलाई २–० गोलको नतिजामा पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ‘हेभिवेट’ मछिन्द्रका लागि रन्जित धिमालले एक गोल गरे ।

त्यसअघि जावलाखेलका डिफेन्डर सिमन्त थापाले गरेको आत्मघाति गोलसँगै मछिन्द्रले अग्रता लिएको थियो । मिडफिल्डर मनिष डाँगीले १४औं मिनेटमा दायाँतर्फ दिएको पासलाई राइट ब्याक छिरिङ गुरुङले सुन्दर क्रसमा परिणत गरेका थिए । सोही क्रसलाई क्लियर गर्ने क्रममा जावलाखेलका डिफेन्डर सिमन्तले आत्माघाति गोल गरेका थिए ।

लिगमा लगातार तेस्रो हार टार्ने जमर्कोसहित मैदानमा उत्रिएको जावलाखेलविरुद्ध हाबी बनेको मछिन्द्रले सुरुआती २२ मिनेटमै अग्रता दोब्बर पारेको थियो ।

खेलको २१औं मिनेटमा जावलाखेलका डिफेन्डर लोइक निज्मीले मछिन्द्रका कप्तान सुजल श्रेष्ठमाथि फाउल गरेपछि साविक विजेताले फ्रि–किक पाएको थियो ।

सोही फ्रि–किकलाई मछिन्द्रका लेफ्ट ब्याक रन्जितले गोलमा परिणत गरे । पेनाल्टी एरियाको दायाँ तर्फबाट ‘सेकेन्ड बार’मा प्रहार गरेको फ्रि–किक सोझै गोलमा परिणत भएसँगै मछिन्द्रले ‘कम्फोर्टेबल’ लिड लिएको थियो ।

निर्धारित अवधिभर जावलाखेलमाथि मछिन्द्रले निरन्तर आक्रमणको प्रयास गरे पनि अन्य मौकालाई ‘कन्भर्ट’ गर्न सकेन । जावलाखेलले विरलै मछिन्द्रमाथि आक्रमणको मौका सिर्जना गर्न सक्यो ।

जावलाखेलका रुप बहादुर लामाले पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

रन्जितले ७०औं मिनेटमा कर्नरमार्फत दिएको क्रसमा मनिषले ६ यार्ड बक्स भित्रबाट गरेको हेडर प्रहार फ्रेममा परेन । त्यसको तीन मिनेट नबित्दै मछिन्द्रका सेन्टर ब्याक नुरेन करिमले हेडरमार्फत गरेको सशक्त प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्र सिंह थापाले पञ्च गरेका थिए ।

जितसँगै सुरुआती तीन खेलबाट ७ अंक जोडेको मछिन्द्र अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटो युथ क्लबसँग अंक बराबरी भए पनि गोलअन्तरमा पछि परेसँगै मछिन्द्रले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो ।

पहिलो खेलमा न्युरोड टिम (एनआरटी)विरुद्ध २–१ को जित निकालेको मछिन्द्रले दोस्रो खेलमा विभागीय महारथी त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।

यस्तै, पराजित जावलाखेल तेस्रो चरण सकिँदा पनि जित र अंकविहीन रहँदै तालिकाको १३औं स्थानमा छ । पहिलो खेलमा मनाङसँग १–० को नतिजामा पराजित जावलाखेल दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग १–० ले हारेको थियो ।

लिग तालिकाको शीर्ष स्थानमा सातदोबाटो र तेस्रो स्थानमा मनाङ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर