बूढानीलकण्ठ बैठकको निष्कर्ष- देउवाको नेतृत्व नै अपरिहार्य – Nepal Press
कांग्रेस महाधिवेशन

बूढानीलकण्ठ बैठकको निष्कर्ष- देउवाको नेतृत्व नै अपरिहार्य

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीमा अझै एक कार्यकाल सभापति शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य भएको ठहर गरेको छ ।

सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको संस्थापन पक्षको बैठकले देउवाकै नेतृत्वमा महाधिवेशनमा होमिने निर्णय गरेको छ । बैठकले पदाधिकारी र केन्द्रीय सदस्यमा आकंक्षा राख्नेहरूको व्यवस्थापनका लागि पुनः शीर्ष तहमा छलफल गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता एनपी साउदलगायतले महामन्त्री लड्ने आकांक्षा व्यक्त गरेका छन् । केही केन्द्रीय सदस्यहरूले सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सहमहामन्त्री महतले महाधिवेशनमा संस्थापन पक्षलाई एकताबद्ध र अझ बलियो बनाउने विषयमा छलफल भएको बताए । बैठकले नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको ठहरसमेत गरेको छ ।

‘राष्ट्रिय राजनीतिमै हाम्रो सभापति शेरबहादुर देउवाजीको नेतृत्व स्थापित भएको बेला उहाँकै नेतृत्वमा कांग्रेस अगाडि बढ्नुको विकल्प छैन भन्ने निष्कर्ष रह्यो । पार्टीभित्र उहाँले बहुमतको प्रयोग नगरी सहमतिका लागि प्रयास गर्दै आउनुभएको हो । फेरि पनि उहाँकै नेतृत्वमा हामी गोलबन्द हुने भयौ’, महतले भने ।

उनले पदाधिकारीका उम्मेदवारबारे पर्याप्त छलफल गरेर सहमतिमै टुंगो लगाइने जानकारी समेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर