लेनदेन विवादमा युवा संघका नेताको हत्या, आरोपी दुईजना पक्राउ – Nepal Press

लेनदेन विवादमा युवा संघका नेताको हत्या, आरोपी दुईजना पक्राउ

काठमाडौं । पैसा लेनदेनको विषयमा विवाद हुँदा युवा संघका भक्तपुर जिल्ला नेता राजन श्रेष्ठको हत्या भएको खुलेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले राजनबाट २५ लाख रुपैयाँ लिएका हेमन्त श्रेष्ठले लेनदेन विवादमा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको नेपाल प्रेसलाई बताए ।

प्रहरीले भक्तपुरका हेमन्त श्रेष्ठ र मोरङको लेटाङका प्रेम विश्वकर्मालाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानमा हेमन्तले राजनबाट २५ लाख रुपैयाँ लिएको र केही रकम तिर्न बाँकी रहेका विषयमा लामो समयदेखि दुई पक्षबीच विवाद देखिएको प्रहरीले जनाएको छ ।

हेमन्तले मंगलबार राति पैसा दिन भनेर बालकोट जाने फलामे पुलनिर बोलाएको र उनका साथी प्रेम विकसहित मिलेर हत्या गरेको बताइएको छ । एसएसपी खापुङले घटना पैसा लेनदेन विवादकै कारण भएको देखिएको र यसको सबै पक्षबारे अनुसन्धान भइरहेको बताए ।

प्रहरीले मिटर ब्याजको विवादका कारण घटना भएको हुनसक्ने आँकलन गरेको छ । कुटपिटबाट गम्भीर घाइते श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो । उनको शव अहिले मध्यपुर अस्पतालमा राखिएको छ ।

याे पनि पढ्नुहाेस् ।

युवा संघ भक्तपुरका सदस्य राजन श्रेष्ठकाे कुटपिटबाट हत्या


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर