कर्णालीमा व्यवसायीले गाडी भाडा दोब्बर बढाए, सुर्खेत-मुगु ३५०० रुपैयाँ – Nepal Press

कर्णालीमा व्यवसायीले गाडी भाडा दोब्बर बढाए, सुर्खेत-मुगु ३५०० रुपैयाँ

सुर्खेत । कर्णाली प्रदेशको राजधानीबाट बिभिन्न जिल्लामा चल्ने यात्रुवाहक सवारीले मनोमानी तवरमा भाडा बढाएको पाइएको छ । इन्धनमा भएको मूल्यबृद्धिको बहाना बनाउँदै व्यवसायीले सरकारी निकायसँग छलफल र सहमति नलिइ दोब्बर भाडा बढाएका छन् ।

सुर्खेतदेखि दैलेखको राकम कर्णालीसम्म यसअघि ६०० भन्दा कम रहेको गाडी भाडा अहिले ९ सय पु¥याइएको छ । कर्णाली राजमार्ग अन्तरगत पर्ने सोही खण्डको तल्लो डुंगेश्वरसम्म तीन सय भाडा रहेकोमा ६०० पुर्‍याइएको छ ।

त्यसबारे कुनै पनि सरोकारवाला निकायको ध्यान नगएको यात्रुले नेपालप्रेससँग गुनासो गरेका छन् । ‘जति भने पनि तिर्छन् भन्ने आशयले भाडा बढाइरहेका छन् । यहाँ लूट भइरहेको छ । सुर्खेतका सबै यातायात प्रालीको टिकट काउन्टरमा निकै महंगो भाडादर तोकिएको छ,’ दैलेखको तल्लो डुंगेश्वर जान लागेका कमल रेग्मीले नेपाल प्रेससँग भने ।

भाडादर कतिसम्म बढाइएको छ भने सुर्खेतदेखि मुगु सदरमुकामसम्म ३ हजार ५ सय निर्धारण गरिएको छ । जवकि केहि समयअघिसम्म सोही रुटमा १ हजार ८ सय तिरे पुग्थ्यो । व्यवसायीले सुर्खेतदेखि जुम्लासम्मको भाडा २ हजार ११२ रुपैयाँ लिने गरेका छन् ।

‘पहिले १८ सयमा मुगु पुग्ने गरेका थियौं । अहिले ३५ सय तिर्नुपर्ने बाध्यता छ,’ मुगुको छायानाथ रारा नगरपालिकाका मनोज शाहीले भने, ‘यस्तो अचाक्ली भाडा तिरेर बसमा आउनुभन्दा बरु जहाज नै सस्तो लाग्न थाल्यो ।’

हुनेखानेका लागि नेपालगन्ज–मुगु सिधा हवाइसेवा भए पनि सुर्खेत आउन त्यो विकल्प पनि छैन । ‘कमजोर आर्थिक अवस्था भएकाहरुले यात्रा गर्नै नपाउने गरी भाडा बढाइएको पाइयो,’ मुगुका यात्री शाहीले भने ।

सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले सरोकार सबैसँग समन्वय नगरी भाडा बढाउन नमिल्ने बताए । उनले भने, ‘हामी अनुगमन गर्छौं । यातायात प्रालीसँग कुरा गरेर गल्ती गर्ने व्यवसायीलाई कारवाही गर्छौं ।’


प्रतिक्रिया

One thought on “कर्णालीमा व्यवसायीले गाडी भाडा दोब्बर बढाए, सुर्खेत-मुगु ३५०० रुपैयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर