विवाह पञ्चमीको मुख्य दिन आज, जानकी मन्दिरमा विवाहको रौनक (भिडिओ) – Nepal Press

विवाह पञ्चमीको मुख्य दिन आज, जानकी मन्दिरमा विवाहको रौनक (भिडिओ)

जनकपुरधाम । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज विवाह पञ्चमी मनाइँदैछ । मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको थियो । सोही आधारमा जानकी मन्दिरले हरेक वर्ष विवाह पञ्चमी उत्सव मनाउदै आएको छ । जनकपुरधाममा यतिबेला विवाह पञ्चमीको रौनक र रमझम छ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।

रामायणमा वर्णन भएअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवी देवताको उपस्थिति थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

मिथिलामा हुने विवाहमा गरिने सबै विधि अपनाएर प्रतिकात्मक सीता(रामको विवाह गरिन्छ । पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौं दिन मटकोर सम्पन्न भइसकेको छ । आज स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी ऐतिहासिक रङ्गभूमिमा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । त्यहाँ स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह गरिने परम्परा रहेको जानकी मन्दिरका महन्त रोषण दासले सुनाए ।

उनका अनुसार भगवानको डोला शोभायात्रा र विवाह समारोह सबभन्दा महत्वपूर्ण मानिन्छ । विवाहका बेला वर र कन्यापक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीता(रामको प्रतीकात्मक झाँकी र लाखौं संख्यामा उपस्थित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।

भगवान रामको जन्मभूमि अयोध्याबाट हरेक ५ वर्षमा जन्ती आउँछन् । यसवर्ष भने औपचारिक रुपमा जन्ती आउने छैनन् । तर पनि ५ लाख बढी साधुसन्त, महन्त तथा श्रद्धालु आउने अनुमान जानकी मन्दिरका सहायक महन्त रोषण दासको छ । रातिदेखि नै जनकपुर श्रद्धालुले भरिएको छ ।

श्रद्धालु भक्तजन आज बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।

विवाह पञ्चमीको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । जनकपुरधामका शैक्षिक संस्थाहरु हिजोदेखि नै बन्द छ । विवाह पञ्चमीमा सहभागी श्रद्धालुको सुरक्षार्थ २७ सय सुरक्षाकर्मी परिचालन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर